स्कुलमा विद्यार्थी पढाउँदै प्रहरी

0
Shares

सलिम अन्सारी, प्युठान
प्रहरी विद्यार्थीमाझ पुगेर सामाजिक जागरण अभियान सञ्चालन गरिरहेका छन् । प्रहरीले जिल्लाका विभिन्न शिक्षण संस्थाहरूमा पुगेरै विद्यार्थीलाई सुरक्षासम्बन्धी अभियान ‘सामुदायीक बिद्यालय साझेदारी’ कार्यक्रम सञ्चालन गरिरहेको हो ।

प्रहरी अधिकारीहरू महिला, बालबालिका तथा यौनजन्य हिंसा, साइबर अपराध, लागूऔषध, जबरजस्ती करणीसम्बन्धी अपराध ठहर्ने अवस्था र कानुनी व्यवस्थाहरू साथै त्यसबाट बच्ने सुरक्षात्मक उपायहरूका बारेमा बिध्यालयमा कक्षा संचालन गर्छन। हरेक कार्यक्रममा किशोर अबस्थाका छात्रछात्रालाई सहभागी गराएर उनीहरूलाई हिंसाका कारण र सावधानीका उपायहरूका बारेमा प्रहरीले सचेत गराउँदै आएको छ ।

सचेतनामूलक कार्यक्रममा देखिएको छात्रछात्राको सहभागिताले सबै प्रकारका हिंसा नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकीको भनाइ छ । कतिपय अबस्थामा कानुनी व्यवस्थाका बारेमा अनभिज्ञ रहने अवस्थाले पनि हिंसालाई बल र्पुयाइरहेको सन्दर्भमा यसका प्रावधानका बारेमा छात्रछात्रालाई जानकारी गराउँदा त्यसबाट सिंगो समाज नै जानकार हुने भएकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बुढाथोकीले बताए ।

लागु औषध दुव्र्यसन ,माधकपदार्थ सेवन,सामाजिक संजालको दुरुपयोगले हुने असरका विषयमा विद्यार्थीलाई सचेत बनाउन बिध्यालयमा डिएसपी बुढाथोकी आफै पुगेर कक्षा चलाउदै आएका छन ।जिल्ला प्रहरी मातहतका प्रहरी इकाइहरूमार्फत समन्वय गरेर सुरु गरिएको सचेतनामूलक कार्यक्रममा चासो दिएर विद्यार्थीले सहभागिता जनाएका छन् । प्रहरीका अनुसार समाजका सबै पक्षलाई हिंसा न्यूनीकरणमा सचेत बनाउने उद्देश्यले यो अभियान चलाईएको हो ।

प्रहरीले जिल्लाका हरेक विद्यालयमा पुगेर अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालयले बताएको हो । विद्यार्थीलाई यौनहिंसा, महिलाहिंसा, लागूऔषध, मानव बेचबिखन, साइबर क्राइम आदिबारे जानकारी दिइएको हो । अभियानमा बालबालिकालाई यौनहिंसा र बलात्कारका घटनाबाट कसरी सुरक्षित रहने भनेर पनि सिकाइएको छ । जिल्लाका सबै विद्यालयमा अभियान र्पुयाउने योजना रहेको प्रहरीको भनाइ छ ।