समायोजनले खाली हुँदै प्रदेश अस्पताल सुर्खेत

0
Shares

प्रकाश पन्त, वीरेन्द्रनगर
समायोजले गर्दा प्रदेश अस्पताल सुर्खेत विशेषज्ञ डाक्टरबिहिन हुने भएको छ । २४ जना विशेषज्ञ डाक्टरको दरवन्दी रहेको अस्पतालमा अहिले कार्यरत ११ जना विशेषज्ञ डाक्टरमध्ये ९ जनाले संघ र अरु प्रदेश रोजेपछि अस्पताल विशेषज्ञ डाक्टरविहीन हुने भएको छ ।

सुरुदेखि नै विशेषज्ञ डाक्टरको अभाव झेल्दै आएको अस्पतालले समायोजनपछि थप समस्या झेल्ने भएको छ । समायोजनपछि दुई जना मात्र विशेषज्ञ डाक्टर हुने भएपछि अप्रेसनलगायतका महत्वपूर्ण विशेषज्ञ सेवा पूर्ण रुपमा प्रभावित हुने देखिन्छ । समायोजनको पदस्थापनापछि अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. अमित सिंह र सर्जन डाक्टर सुजन सापकोटा मात्र रहनेछन् । चार जना स्थायी मेडिकल अधिकृत मध्ये एक जना बाहेक अरुले कर्णाली प्रदेश रोजेनन् ।

मध्यपश्चिम क्षेत्रीय अस्पतालको रुपमा रहेको यो अस्पतालको नाम परिवर्तन गरी कर्णाली प्रदेश सरकारको मातहतमा ल्याइएको छ । अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरले संघ र अरु प्रदेश रोजेपछि अस्पताल खाली हुने भएको छ । लामो समयपछि तंग्रिदै गरेको अस्पताल समायोजनपछि फेरी समस्यामा पर्ने अवस्था सृजना भएको अस्पताल व्यवस्थान समितिका अध्यक्ष निलकण्ठ खनालले बताए । कर्णाली प्रदेशमा घर भएका विशेषज्ञ डाक्टर कम छन्, भएका विशेषज्ञ डाक्टरपनि बाहिर गएपछि अस्पतालको अवस्था झन खराव हुने देखिन्छ ।

यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्याम कँडेलले कर्णाली प्रदेशको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर सरकारले प्रदेश अस्पतालमा तत्काल विशेषज्ञ डाक्टरहरुको व्यवस्था गर्नु पर्ने बताए । देशव्यापी समस्या भए पनि कर्णाली प्रदेशको सामाजिक मन्त्रालय र यो प्रदेशबाट प्रतिनिधित्व गर्ने सासदहरु मार्फत संघिय मन्त्रालयमा पहल भइइरहेको उनले जानकारी दिए ।

आफुहरुलाई संघ मातहत राखेर सवैतिर जाने व्यवस्था गर्नुपर्ने माग डाक्टरहरुको छ । समायोजन सम्वन्धी व्यवस्थाले संघ र एक प्रदेशबाट अर्को प्रदेशमा जाने ढोका बन्द गरेपछि सधैभरि एउटै प्रदेशमा बस्नुपर्ने अवस्थाले घर पाएक रोज्न भएको हुनु परेको प्रदेश अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर केएन पौडेलले बताए । अन्तर प्रदेश काज सरुवा र संघमा जान पाउने प्रावधान नवनेसम्म डाक्टरको बृद्धि विकासमा पनि असर पर्ने उनले उल्लेख गरे ।

एक सय १५ वेड संचालन भएको अस्पतालमा अहिले छात्रबृत्रि करारका ७ जना, विशेषज्ञ सेवा विस्तारका ४ जना, सामाजिक विकास मन्त्रालयको सहयोगमा कार्यरत १० जना मेडिकल अधिकृत रहेको अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले बताए । तत्काल समाधान नभए समायोजनले ठुलो समस्या आउने देखिन्छ, उनले भने ।