आधारभूत तहमै दीक्षित

0
Shares

हिक्मत नेपाली, दैलेख
विद्यावारिधि होस् या विश्वविद्यालयको विशिष्ट शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई दीक्षान्त गरिनु कुनै नौलो कुरा होएन् । तर दैलेखका एक विद्यालयले कक्षा ५ उर्तिण गरेका विद्यार्थीलाई दिक्षान्त गर्ने गरेको छ । जिल्ला सदरमुकाम दैलेख स्थित नारायण नगरपालिका–१ को बाल मन्दिर प्राथमिक विद्यालयले गत बर्ष देखि दिक्षान्त गर्दै आएको छ । नेपाल बाल संगठनद्धारा संचालित उक्त विद्यालयबाट कक्षा ५ उर्तिण हुने ११ जना विद्यार्थीलाई गत बर्ष दीक्षित गरेको थियो ।

यस बर्ष पनि विद्यालयमा आयोजित कार्यक्रममा ११ जना विद्यार्थीलाई गाउन पहि¥याएर दिक्षीत गरिएको विद्यालयका प्रधानाध्यापक टिका थापाले जानकारी दिनुभयो । कक्षा ५ बाट प्रथम हुने सुजन बादी, द्धितिय हुने विनिता थारु, तृतिय हुने संगिता रेग्मी लगाएत ११ जनालाई विद्यालयले दिक्षीत गरेको हो । यो विद्यालयको अन्तिम कक्षाको रुपमा रहेको कक्षा पाँचबाट अन्य विद्यालयमा जाँदा उनिहरुको हौसला बढाउनका लागि गत बर्ष देखि विद्यार्थीलाई दिक्षीत गराउने अभ्यास थालिएको प्रधानाध्यापक थापाले बताउनुभयो ।

विद्यालयको सिकाई वातावरण बालमैत्री बनाएको शिक्षक कृष्णबहादुर थापाले बताउनुभयो । विद्यालयको आन्तरिक स्रोतबाट बालबालिकालाई दिवाखाजाको व्यवस्थापन गरेको बताउँदै शिक्षक थापाले भन्नुभयो ‘कक्षा कोठामा राउन्ड टेवल र कार्पेटको व्यवस्था छ, श्रव्य दृष्य सामग्रीबाट कक्षा संचालन भएको छ ।’ उहाँले विद्यालयलाई नमुना बनाउने प्रयास थालिएको बताउनुभयो । विद्यालयको शैक्षिक र भौतीक क्षेत्रमा थप सुधारका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

दिक्षान्त समारोहमा नारायण नगरपालिका दैलेखका शिक्षा शाखा प्रमुख युगलनारायण बस्यालले आधारभुत तहमा दिक्षान्तको अभ्यास नेपालमै पहिलो भएको बताउनुभयो । यसले विद्यार्थीहरुमा थप हौसला प्रदान हुने उहाँको भनाई छ । नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले विद्यालयको शैक्षिक स्तर सुधारमा यसले सघाउ पु¥याउने धारणा राख्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने प्रयास स्वरुप कक्षा पाँचका विद्यार्थीलाई दिक्षीत गर्ने अभ्यास थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर सुनारले बताउनुभयो ।

दलित समुदायका बालबालिकाको बाहुल्यता रहेको यो विद्यालयमा ८० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ३ जना दरबन्दी र २ जना आन्तरिक स्रोतका शिक्षक छन् । दिक्षान्त समारोहमा नेपाल बाल संगठन दैलेखका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर थापा, शिक्षक, अभिभावक र विद्यार्थी सहभागि थिए ।