भवन निर्माण तथा पुरस्कार स्थापना गर्ने निर्णय

0
Shares

भक्तपुर, (नेस)
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले शाखाको भवन निर्माणका विषयमा भक्तपुरका पत्रकारबीच एक बृहत छलफल कार्यक्रम तथा भेलाको आयोजना गरेको छ ।

भेलाले भवन निर्माण प्रक्रिया अगाडि बढाउनका लागि महासंघका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।शाखाका पूर्वअध्यक्षहरु नारायण सुन्दर किलम्बु ,रमेश खडका, विकल श्रेष्ठ र अमर भुजु समितिमा रहनु भएको छ ।

समितिले महासंघको भवन निर्माणका लागि जग्गाको कानुनी प्रक्रिया अगाडि बढाउने,आर्थिक संकलनका लागि पहल गर्ने र आवश्यक अन्य प्रक्रियाका लागि समिति थप गर्ने तथा भेलाहरु गरी सबै क्षेत्रको समन्वय जुटाई महासंघको पक्की भवन बनाउनका लागि पहल गर्न भेलाले निर्देशन दिएको छ ।

कार्यक्रममा स्व. भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारका लागि नेपाल पत्रकार महासंघ र पुरस्कारका संरक्षक राजकुमार महर्जन विच सम्झौता भएको छ । पुरस्कारका लागि माउण्ट भ्यु बोर्डिङ स्कुल बालकोटका प्रिन्सीपल समेत रहेका महर्जनले रु एक लाख अक्षय कोष स्वरुप पत्रकार महासघंलाई उपलब्ध गराउने र महासंघले भक्तपुर कार्यक्षेत्र भएका एक स्थापित पत्रकारलाई बार्षिक रु दश हजार नगद नघट्ने गरी पुरस्कार उपलब्ध गराउने गरी सम्झौता भएको छ ।

पुरस्कारका लागि थप मापदण्ड र व्यवस्थापनका लागि संरक्षक र महासंघ पदाधिकारी संलग्न एक समिति बनाउने पनि सम्झौतामा उल्लेख गरिएको छ ।