‘सरकारको गतिविधि संघीयता विरोधी’

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले जनअपेक्षा अनुसार मुलुकलाई सही दिशा दिन नसकेको बताउनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा नगदेशमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री डा. कोइरालाले सरकारको गतिविधि संघियता विरोधी भएको बताउनुभयो ।

मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको दाबी गर्दै उहाँले सरकारले काम गर्ने ठोस योजना पनि प्रस्तुत गर्न नसकेको दाबी गर्नुभयो ।महामन्त्री डा.कोइरालाले सरकारको गतिविधि संघियता विरोधी भएको र प्रधानमन्त्रीमा शक्ति केन्द्रित गरेर सरकारले संघीयताविरोधी कार्य गरेको आरोप लगाउँदै मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको दाबी गर्नुभयो।
सरकारको एक वर्षे कामको मुल्यांकन गर्दै महामन्त्री डा.कोइरालाले सरकारले काम गर्ने ठोस योजना नभएको बताउनुभयो ।शान्ति सुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिँसा, बलात्कार, भ्रष्टाचारका घटना बृद्धि भएको उहाँको भनाई थियो ।

महामन्त्री डा.कोइरालाले कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको भन्दै यस्तै अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने भएकाले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्ने दाबी गर्दै त्यसका लागि कांग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं केन्द्रिय अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले पछिल्ला गतिबिधि हेर्दा सरकार एकदलीय अधिनायकवादतर्फ उन्मुख भएको स्पष्ट पारेको बताउनुभयो । सरकारसँग स्पष्ट र सहज बहुमत हुँदाहुँदैं दुई तिहाई बहुमत पु¥याउनुको रहस्य मुलुकलाई घेराबन्दीमा पारेर कैदखाना बनाउने प्रयत्न भएको आरोप समेत लगाउनुभयो ।

सरकारमा मानवीय संवेदना हराएको भन्दै उहाँले सरकार लोकतान्त्रिक मूल्य मान्यतालाई निमिट्यान्न पारेर मुलुकलाई अराकतातर्फ लैजान अग्रसर भएको आरोप लगाउनुभयो ।नगरसभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले ‘जन जनमा कांग्रेस मन मनमा कांग्रेस’ भन्ने मुल नाराका साथ शुरु भएको पुनर्जागरण अभियानले कांग्रेसलाई एकतावद्ध हुन अभिप्रेरित गरेको बताउनुभयो ।