सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

0
Shares

काठमाडौं ।
धनुषा, कास्की, सर्लाही, चितवन र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
धनुषा, धनुषाधाम नगरपालिका(८ स्थित सडकमा ना१ज ५९३९ नम्बरको टाटासुमो शुक्रबार दिउसो अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका सुमोमा सवार सिराहा गोलबजार ५ बस्ने निशेषकृष्ण गौतमकी १० वर्षीया छोरी श्रेया गौतमलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै घाइते भएका सुमो चालकको ग्राण्डी अस्पताल धनुषामा र अन्य ४ जनाको चारनाथ अस्पताल वीरेन्द्र बजारमा उपचार भइरहेको छ ।

कास्की, पोखरा महानगरपालिका ३२ लामे आहालस्थित सडकमा ग१त ४९९३ नम्बरको ट्याक्टरबाट शुक्रबार साँझ लडेर गम्भीर घाइते भएकी ट्याक्टरमा सवार सोही स्थान बस्ने ४२ वर्षीया टिकामाया गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, बरहथवा नगरपालिका १० बहरैया टोलस्थित सडकमा को२च २१० नम्बरको स्कारपियोको ठक्करबार सोही स्थान बस्ने ७० वर्षीय महन्त रामको शुक्रबार राति मृत्यु भएको छ । स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि एडभान्स सन्जिबनी अस्पताल बरहथवा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरेहको छ ।

चितवन, भरतपुर महानगरपालिका १० स्थित सडकमा ना६ख ६५८६ नम्बर ट्रकले ना६३प ८२६ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक भरतपुर महानगरपालिका १८ शशिनगर बस्ने ३२ वर्षीय मेघलाल तामाङको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पर्सा, बहुदरमाई नगरपालिका २ बैरियास्थित भित्री सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सिसियारी बस्ने २३ वर्षीय पप्पु ओझाको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।