मध्यपहाडी लोकमार्ग कालोपत्रेको कामले तीव्रता पायो

0
Shares

धनवीर दाहाल, रुकुम ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत रुकुम खण्डमा कालोपत्रे गर्ने कार्यले तिब्रता पाएको छ । १ सय २३ किलोमिटर पर्ने रुकुम खण्डलाई ८ भागमा विभाजन गरेर काम अघि बढाइएको छ  । सोही क्रममा रुकुम पश्चिमको शितलपोखरी देखी ऋणदह सम्मको १४ किलो मिटर सडक कालोपत्रे गर्ने कार्यले तिब्रता पाएको छ । २० करोड लागतमा कालोपत्रे भइरहेको सडक आगामी जेठ महिना भित्रै सम्पन्न हुने मध्यपहाडी लोकमार्गका सव इन्जिनियर पदम गुरौले बताउनुभयो ।

नालीसहित सडकलाई फराकिलो बनाएपछि कालोपत्रे गर्न सुरु गरिएको हो । कालोपत्रे गर्दा प्रयोग हुने सामाग्रीहरुमा गुणस्तीयतामा कमि हुन नदिएको ठेकेदार कम्पनी कालिका प्यासिफिक जेभिका ओभरसियर दिपेश राइले बताउनुभयो ।

यातायात सञ्चालनमा अवरोध नपुगोस भनेर एकपटकमा सडकको एकतर्फी मात्रै कालोपत्रे भइरहेको छ । सडक कालो पत्रे भएपछि यातायातका साधन आवतजावतमा बाक्लीने भएकोले आफुहरुलाई सुबिधा हुने मुसिकोट नगरपालिका ४ का वडा अध्यक्ष निर्मलकुमार पुनले बताउनुभयो । सम्झौता अवधि असार मसान्तसम्म छ । तर, निर्माण कम्पनीले भने जेठ मसान्तमै काम सकिने दाबी गरेको छ ।

सानीभेरी गाउँपालिका ८ को हाँसिबाङदेखि मुसिकोट नगरपालिका ५ सेरिगाउँसम्मको १२ किमि खण्डको ठेक्का भने अझै लागेको छैन । मध्यपहाडी लोकमार्गले रुकुम पश्चिमको चौरजहारीदेखि रुकुम पूर्व र बाग्लुङको सिमाना पाति हाल्नासम्मको भू–भागलाई समेटेको छ ।