फिकुरीको पशु चौपायमा रेबिज रोगको संक्रमण

0
Shares

बेत्रावती ।
नुवोकाटको किस्पाङ गाउँपालिका–२ स्थित फिकुरीका पशु चौपायमा रेबिज रोगको संक्रमण फैलिएको छ । कर्कलेस्थित दुई बस्तीका करीब ४० घरपरिवारका किसानले पालेका पशुचौपायमा रेबिज रोगको संक्रमण देखिएको उक्त वडाका वडाध्यक्ष देवनाथ भट्टले जानकारी दिए ।

उनका अनुसार दुई साताअघि ककुरको टोकाइबाट भैंसीमा देखा परेको सो रोगबाट अहिले गाउँका कुकुर, बिरालो, भैंसी, बाख्रालगायत पशुचौपायामा संक्रमण फैलिएको छ । कुकुरको टोकाइबाट स्थानीय राजकुमार भट्ट र बज्रबहादुर तामाङका एक–एकवटा भैंसी मरिसकेका र अन्य दर्जनौं पशुचौपाया सिकिस्त बिरामी भएका छन् ।

‘रोग देखापरेपछि नियन्त्रणको लागि रेबिजविरुद्ध खोप अभियान चलाए पनि नियन्त्रणमा आउनसकेन,’ वडाध्यक्ष भट्टले भने, ‘गाउँपालिकासँग खोपको अभाव भएकाले जिल्ला तथा माथिल्लो निकायबाट माग गरिएको छ ।’ अधिकांश मानिस कृषि पेशामा आवद्ध रहेको अर्चले गाउँमा मात्र करीब तीन सय पशुचौपाय पालन हुँदै आएकोमा अहिले बढीजसो चौपाया संक्रमणमा परेका बताइएको छ ।

रोगबाट ग्रस्तभएका कुकुर नियन्त्रणमा लिनेक्रम जारी रहेपनि बिरालो नियन्त्रण गर्न कठिन भएको स्थानीय शिक्षक वसन्त भट्टले बताए । फिकुरीका विभिन्न बस्तीमा देखिएको उक्त रोग अन्य वडामा फैलिन थालेकाले नियन्त्रणमा आफूहरू गम्भीर लागेका गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए ।