अझै जोडिएनन् सीसी क्यामेरा: सात महिना बित्यो, पहिलेका क्यामेरा पनि गायब

0
Shares

मनोज भट्ट, महेन्द्रनगर
कञ्चनपुरको महेन्द्रनगर बजार सिसि क्यामेरा बिहिन बनेको छ । बजारमा लगाएका १६ थान सिसिटिभी क्यामेरा तीन महिना नपुग्दै काम नलाग्ने (बेकामे) बनेका थिए ।

भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मुख्य बजारका प्रमुख प्रमुख क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको थियो ।
सिसि क्यामेरा बिग्रिएको सात महिना बितिसक्दा पनि मर्मत तथा जडानका लागि कुनै पहल गरिएको छैन् । कञ्चनपुरको प्रमुख बजारका रुपमा रहेको महेन्द्रनगर बजार ५ महिना देखि सिसि क्यामेरा बिहिन हुन पुगेको हो ।

महेन्द्रनगर बजार क्षेत्रको सुरक्षा हुने, भिडभाँड हुने बजार क्षेत्रमा क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुँने र अपराध न्युनिकरणमा टेवा पुग्ने, अपराधिक कृयाकलाप गरेर भाग्ने समुहलाई सहज पहिचान गरेर पक्रिन सहज हुने भन्दैै ३२ असारमा सिसी क्यामेरा जडान गरिएको थियो । बजार क्षेत्रमा चार किलोमिटरसम्मको क्षेत्र समेट्न सक्ने क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएका थियो ।

तर क्यामेरा राखेको १५ दिन पनि नबित्दै उक्त क्यामेराहरु बिग्रिएका हुन् । क्यामेरालाई महेन्द्रनगर बजारकै एक अपराधिक समुहले तोडफोड तथा बिगारेको हुन सक्ने तथ्यहरु आउन थालेका छन् । सिसि क्यामेरा निर्मला पन्तको बलात्कार पछि हत्या भएको अवधिबाट बिग्रिएका तथ्यहरु छन् ।
भीमदत्त नगरपालिकाको झण्डै २० लाख रुपैयाँको लागतमा बजार क्षेत्रमा १६ वटा क्यामेरा जडान गरेको थियो । जडान गरिएका सिसीटिभी क्यामरा मध्ये असोज सम्म ७ वटा मात्र राम्रो रहेको तर अहिले भने सबै क्यामेरामा केहि बिग्रएको र उक्त क्यामेरा बजारबाट सबै गायव तथा तोडफोडभएको प्रहरी स्रोतले बताएको छ ।

भीमदत्त नगरपालिकाले झण्डै २० लाखको लागतमा खरिद गरेको क्यामेरा न्यून गुणस्तरको र कामै नलाग्ने अवस्थामा राखिएको स्थानियले आरोप लगाएका छन् । भीनपाको क्यामेरा जडान गर्ने ठेक्का पाएको उग्रतारा ट्रेडर्सले बजार क्षेत्रमा जडान गरेका सिसीटिभी  क्यामेराहरु ‘नाइटभिजन क्यामेरा’ भएको दावि गर्दै आएको छ ।

महेन्द्रनगर बजार सिसि क्यामेरा बिहिन भएका बेला सरोकारवाला निकायले हाल सम्म पनि ध्यान दिन सकेको छैन् । अहिले महेन्द्रनगर बजार र आशपासका क्षेत्रहरु क्यामेराको निगरानीमा छैनन् । २० लाखको लगानीलाई भीमदत्तले वालुवामा पानी झै बनाएको छ । सात महिना सम्म क्यामेराको मर्मत तथा जडान किन गरिएन भने शंकाको प्रश्न अब भीनपा तर्फ तेर्सिएको छ ।