सुनौलो हजार दिनका आमा र बच्चा भएको घरमा झण्डा

0
Shares

विनोद सिंह विष्ट, बैतडी
बैतडीको शिवनाथ गाउँपालिका वडा नं ३ का अधिकांश घरको छाना तथा घर नजिकैको आगनमा झण्डा गाडिएका छन् । गाउँपालिकाको सहयोगमा प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीको पहलमा स्थानीयहरुको घरमा झण्डा गाडिएको छ ।

सुनौलो हजार दिनका आमा र बच्चा भएको घरमा झण्डा गाडिएको अहेव मोहन कलौनीले बताउनुभयो । गर्भवती महिलाहरु र दुई बर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्यमा बिशेष ख्याल गर्नुपर्ने भएकाले उनीहरुलाई सेवा प्रदानमा सहज होस भनेर झण्डा गाडिएको अहेव कलौनीले बताए । वडामा रहेका गर्भवती महिलाहरुका घरमा पहेँलो र दुई बर्ष मुनिका बालबालिकाहरु भएका घरमा हरियो झण्डा गाडिएको हो । झण्डा गाडिएका घरमा स्वास्थ्य र पोषणका कार्यक्रम केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको कुरा सबैलाई जानकारी दिन पनि सजिलो भएको अहेव कलौनीको भनाई छ ।

वडाभरीका सुनौलो हजार दिनका आमा र बच्चा कोही पनि कुपोषित नहोउन र उनीहरुको पोषणमा पहुँच पुर्याउन सजिलो होस भन्ने हेतुले झण्डाले घर चिनाएको हो । घरको छानामा झण्डा राखेदेखि स्वास्थ्यकर्मीहरुले समेत नियमित रुपमा गर्भजाँच गराए नगराएको बारेमा, पोषिलो खानेकुरा लगायतका बिषयमा सोध्ने गरेको स्थानीय सीता पार्कीले बताईन् । हरियो र पहेँलो झण्डाले चिनाएका घरमा पोषणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी समेत भएको छ ।