ललितपुर वन प्रमुखको आकस्मिक निधन

0
Shares

ललितपुर, (नेस)
डिभिजनल वन कार्यालय ललितपुरका वन अधिकृत अचलकुमार ढुंगानाको निधन भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि ललितपुरको मेडिसिटी अस्पताल पुग्नु भएका उहाँको अस्पतालभित्रै आकस्मिक निधन भएको हो ।

जटिल स्वास्थ्य समस्या केही नभएपनि विहीवार केही असहज महसुस गरेपछि आफ्नै कार्यालयका सवारी चालक राजेश पुरीलाई साथ लिएर उहाँ अस्पताल पुग्नु भएको थियो । दिउँसो सवा ४ बजे ढुंगानाको आकस्मिक निधन भएको उहाँका सवारी चालक राजेश पुरीले जानकारी दिनुभयो । ‘शुक्रवारका लागि उहाँले डाक्टरको समय लिनु भएको थियो, तर विहीवार नै केही असजिलो महसुस भएपछि अस्पताल जाऊ भन्नुभयो, इमरजेन्सीकक्षमा पुग्न नपाउँदै उहाँले हामीलाई छोड्नुभयो’–पुरीले भन्नुभयो ।

नेपाल रेन्जर संघका पूर्व अध्यक्ष समेत रहनु भएका स्वर्गिय ढुंगाना विगत ६ महिनादेखि ललितपुर वन प्रमुख हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार बुधवारदेखि उहाँलाई सामान्य खोकी लागेको थियो भने विहीवार खोकी झनै बढेको थियो ।