खानेपानी श्रोत जोगाउन रिचार्ज पोखरी

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
विकाससँगै वातावरणीय प्रभावका कारण खानेपानीको श्रोत हराउँदै गएको र श्रोत सुक्दै जाँदा पर्न सक्ने दीर्घकालीन असरका बारेमा गरिएको अनुसन्धानका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ ।

सियास नेपालले धुलिखेल नगरपालिका र धरान उपमहानगरपालिकामा संचालन गरेको जलवायु परिववर्तन पछिको असरमा पानीको श्रोत जोगाउन अपनाउनु पर्ने योजनाका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले खानेपानीका मुहानहरु जोगाउन रिचार्ज पोखरीहरुको निर्माण, आकाशे पानीको संकलन र श्रोतहरुको सहि ब्यवस्थापन गरिएको बताए ।

धुलिखेल नगरपालिका र सियास नेपालले धुलिखेल नगरपालिका नजिकै रहेको धुलिखेल ठुलो बन भित्र रिचार्ज पोखरीहरु तयार गरेको छ । पोखरीमा जम्मा भएको पानी जमिनमा पुगी मुहानहरु रिचार्ज भईरहने अध्ययनले देखाएको छ । स्थानीय तहमा निर्वाचन हुँदा जनप्रतिनिधिहरुले घर– घर धारा पु¥याउन गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्ने गरी कार्य शुरु गरिएको अध्यक्ष अशोक ब्याञ्जुले बताए ।


धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरानमा खानेपानीको समस्यामा एडिविले सहयोग गरेको बताउँदै सियासले गरेको सहयोगको प्रशंशा गरिन् । सियासको सहयोगमा नगरपालिकाले आकाशे पानी संकलन गर्न, नक्सा पास गर्दा घर छेउमा रिजार्च किट राख्न र खानेपानीका मुहानहरु जोगाउन अपनाउनु पर्ने उपायका बारेमा नगरपालिकाले निर्णय गरेरै कार्यान्वयन गर्न शुरु गरेको बताईन् ।

पानीको श्रोत जोगाउन नगरपालिकाले नगरबासिहरुलाई जनचेतनामुलक कार्यक्रम संचालन गरेको बताउँदै उपप्रमुख भण्डारीले धरानमा पानीको समस्या सधैका लागि अन्त्य गर्न श्रोतलाई बचाउन विकास निर्माणका कार्यहरुमा समेत ध्यान दिने गरेको बताईन् ।

पछिल्लो समय विकासका नाममा सडक र अन्य भौतिक संरचनाहरु निर्माणका कारण पानीका श्रोतहरु पुरिदै गएको र भएका श्रोतहरु समेत अतिक्रमणमा परेको सियासको अध्ययनले देखाएको छ । सडक ढलान गर्ने, जताततै सडक खन्ने र मुहानहरु पुरिदै जाँदा श्रोतहरु बन्द हुन थालेका छन् । वातावरणीय प्रभावका कारण पछिल्लो समय खानेपानीको अभाव बढ्दै गएको र पानीका श्रोतहरु सुक्दै गएका छन् । कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले नगरपालिकाले प्रतिवद्धता गरेको एक घर एक धारा नीतिलाई कार्यान्वयन गर्ने बताईन् ।

सियासलाई सहयोग गर्ने क्यानाडाको आईडिआईका संस्थाको प्रतिनिधिमण्डलले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख मञ्जु भण्डारी लगायतको टोलीसँग भेट गरेको थियो । धुलिखेल नगरपालिकाले सियाससँगको सहकार्यमा गरेको रिचार्ज पोखरीहरुको उक्त टोलीले स्थलगत अध्ययन गरेको थियो ।