आर्थिक समृद्धिका लागि व्यवसायिक कुखुरापालनमा जोड

0
Shares

सीताराम चौधरी, कपिलवस्त ।
शिबराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले कुखुरापालनबाट व्यवसायिक बन्न कृषकहरुलाई आग्रह गर्नुभएको छ । पछिल्लो समय कुखुराको माग बढेकाले कुखुरा पालन व्यवसाय गरी आर्थिक समृद्धितर्फ लाग्न नगरप्रमुख अधिकारीले कृषकहरुलाई जिकिर गर्नुभयो ।

शिवराज नगरपालिका पशु शाखाद्वारा संचालन भएको ३ दिने व्यवसायिक कुखुरापालन सम्बन्धी तालिम उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले अन्य व्यवसायभन्दा कुखुरा व्यवसायबाट आम्दानी बढी हुने भएकाले यसतर्फ लाग्न उत्प्रेरित गर्नुभयो । पछिल्लो समय लेयर्स कुखुरा पालनतर्फ किसानको आकर्षण बढेकाले अण्डामा समेत शिवराज नगरपालिका आत्मनिर्भर बन्दै गएको अधिकारीले उद्घोष गर्नुभयो ।

नेपाल सरकारले भारतबाट कुखुरा तथा अण्डा आयातमा निषेध गरेकाले पनि नेपालमै बजारको प्रशस्त सम्भावना रहेको उहाँले बताउनुभयो । पंक्षीजन्य बस्तुको अबैध चोरी तस्करीमा किसानले समेत निगरानी बढाएमा यहाँका कुखुरापालक कृषकको व्यवसाय फस्टाउने उहाँले बताउनुभयो ।

ब्रोइलर र लोकलको तुलनामा लेयर्स कुखुरा बिक्रीको बजार ब्यवस्थापनमा केही समस्या भएको बताउँदै नगरप्रमुख अधिकारीले बजार व्यवस्थापनमा नगरपालिकाबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

कुखुराबाट सर्ने बर्डफ्लू जस्ता प्राणघातक रोगहरु नियन्त्रण गर्न सरसफाईमा बिशेष ध्यान दिन नगरप्रमुख अधिकारीले जिकिर गर्नुभयो । साथै आबश्यक औषधीको प्रयोग गर्न किसानहरुलाई उहाँले अनुरोध समेत गर्नुभयो । तालिममा शिबराज नगरपालिकाका ३९ जना किसाानहरुको सहभागिता रहेको छ ।