गाउँपालिकाका ६ वटै वडामा तालाबन्दी, तालाबन्दीले सेवाग्राही मर्कामा

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
महाशीला गाउँपालिकाका ६ वटै वडामा भएको तालाबन्दीबाट स्थानीय सेवाग्राही समस्यामा परेका छन् ।
गाउँपालिकाको कार्यालयमा सोमवारदेखि र वडा कार्यालयमा मंगलवारदेखि नेपाली काँग्रेसले तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका हुन ।

गाउँपालिकाका हरेक बिकास निर्माण तथा निर्णय प्रकृयामा ५० प्रतिशत हिस्सा खोज्दै काँग्रेस महाशिलालले गाउँपालिका र वडा कार्यालयमा समेत तालाबन्दी गरेको थियो । तीन दिनदेखि कार्यलयहरु बन्द हुँदा सयौ सेवाग्राहिहरु समस्यामा परेका छन् । उनीहरुले कुनैपनि सेवा लिन नपाएको प्रवक्ता जीवन विक्रम उच्चै ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार केहि वेर अघि सम्पन्न कार्यपालिकाको बैठकले आन्दोलन कर्ताहरुलाई तत्काल ताला खोलेर काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

यदि ताला नखोलेमा गाउँपालिकाले प्रशासन समक्ष आग्रह गर्ने निर्णय समेत भएको छ । वैठकले ताला खोल्न र आन्दोलनरत पक्षसँग आवश्यक समन्वय गर्नका लागि गाउँपालिकाका आवश्यक समन्वयका लागि कार्यवाहक अध्यक्ष हिरादेवी राना, जिल्ला समन्वय समिति सदस्य विष्णुराम विक र प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिएको छ । उहाँहरुले ताला खोल्ने, नियमित काम काज सुचारु गर्न र उनिहरुलाई वार्तामा आव्हान गर्नका लागि पहल गर्नुहुने बताईएको छ ।

जननिर्वाचित जनप्रतिनिधिले गरेका निर्णयहरुमा असमती जनाएर राजनीतिक स्वार्थ पुरा गर्न खोजीएको भन्दै नागरिकहरुले समेत तालावन्दीको बिरोध गरेका छन् । तीन दिनदेखि तालाबन्दी हुँदा कार्यालयका कामकाज ठप्प बनेका छन् ।

यस अघि आन्दोलनरत पक्ष र वडा अध्यक्षहरुबीच छलफल समेत भएको थियो । उक्त छलफलमा संविधान र कानून विपरितका माग राखेपछि सहमति हुन सकेको थिएन । जनताको सेवा प्रवाहका लागि तालाबन्दी खोलेर बातावरण सहज नगराए अव कानूनी उपचारमा जाने समेत प्रवक्ता उच्चैले वताउनुभयो । नेपाली कांग्रेसले उपभोक्ता समितिहरुमा ५० प्रतिशत नेपाली कांग्रेसलाई दिनुपर्ने लगायतका माग राखेका थिए ।