उत्पादनमुखी कार्यमा लगानी गरी आत्मनिर्भर बन्न जोड

0
Shares

कपिलवस्तु ।
बचत सहकारीले उत्पादनमुखी कार्यमा लगानी गरी आत्मनिर्भर बन्नुपर्ने प्रदेश नं. ५ का सांसद अर्जुन कुमार के.सी.ले जोड दिनुभएको छ । सर्वसाधारणलाई लक्षित गरी खोलिएका सहकारीले उत्पादनमुलक कार्यमा लगानी गरी स्थानीय तहमै रोजगारीको सृजना गर्न सुझाव दिनुभएको हो ।

६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कपिलवस्तुको चन्द्रौटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद के.सी.ले समृद्ध राष्ट्र निर्माणमा सहकारीको ठूलो भूमिका रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो– “सहकारी संस्था बचत र ऋण लगानी असुली मात्र सीमित हुनुहुँदैन । उत्पादन हुने ठाउँमा लगानी गरौं, जसबाट रोजगारीको सृजना हुन्छ र देशको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्छ ।”

“दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मूल नाराका साथ जिल्लाको शिवराज नगरपालिकामा क्रियाशील बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन शिवराज सहकारी सञ्जालद्वारा प्रभातफेरी निकालिएको थियो । ब्यानर, प्लेकार्डसहित चन्द्रौटास्थित सशस्त्र चोकबाट निकालिएको प्रभातफेरी चन्द्रौटा बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । कार्यक्रममा शिवराज सहकारी सञ्जालमा आबद्ध दुई दर्जन बढी सहकारी संस्थाका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रभातफेरीसँगै गत चैत १७ गते बारा र पर्सामा हावा हुरीबाट ज्यान गुमाएका परिवार र घाइतेहरुका लागि आर्थिक संकलन गरिएको सञ्जालका अध्यक्ष दमन प्रसाद क्षेत्री (नारायण भाट ) ले जानकारी दिनुभयो ।

‘विपदका लागि सहकारी’ भन्ने नाराका साथ संचालन गरिएको अभियानबाट ९४ हजार ३ सय ५७ रुपैयाँ संकलन भएको सञ्जालका अध्यक्ष क्षेत्रीले बताउनुभयो । संकलित रकम पीडितसम्म पु¥याउने क्षेत्रीले जनाउनुभयो ।

कोणसभामा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नक्कली सहकारीलाई बन्द गर्नुपर्ने बताउनुभयो । सहकारीमा नाममा केही सहकारीहरुले गैरकानुनी काम गरेको आरोप लगाउँदै त्यस्ता सहकारीलाई यस ठाउँमा राख्न आवश्यक नरहेको नगरप्रमुख अधिकारीले बताउनुभयो । शिवराज नगरपालिकामा ३० वढी सहकारीहरु सकृय रुपमा काम गरिरहेकाले सहकारीको कामलाई नगरपालिकाले मुल्याङकन गर्ने अधिकारीले तर्क राख्नुभयो । गाउँ गाउँ वाट थोरै रकम संकलन गरेर ठूलो पूँजी बनाई रोजगारीमूलक क्षेत्रमा लगानी गर्न समेत अधिकारीले आग्रह गर्नुभयो । समृद्ध नगर बनाउन सहकारीले कृषिलाई प्राथमिकता दिनुपर्ने अधिकारीले जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाल कृषि सहकारी संघका केन्द्रिय सदस्य वसन्त अर्याल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा, शिवराज नगरका जनप्रतिनिधिहरु, नगरभित्र क्रियाशील सहकारीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।