व्यवसायिक उत्पादनमा लाग्न मन्त्री थापाको आग्रह

0
Shares

म्याग्दी ।
महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले सहकारीमार्फत व्यावसायिक उत्पादनमा लाग्न आग्रह गरेकी छिन् । बुधबार ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उनले सहकारीकर्मीहरुलाई उत्पादनमूलक क्षेत्रमा जोडिन आग्रह गरेकी हुन् ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित आयोजित सहकारी विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले गाउँगाउँमा सहकारीको माध्यमबाट स्वरोजगार सिर्जना गर्नुपर्ने बताइन् । उनले सहकारीमार्फत समुदायस्तरमा रहेको स्रोतसाधनको उचित परिचालन गरेर उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै रोजगारको विकास गरी विदेशिने युवालाई रोक्नुपर्ने बताइन् ।

मन्त्री थापाले देशको विकास र आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकारले लिएको ‘सुखी नेपाली र समृद्ध देश’ निर्माणको लक्ष्य पुरा गर्न सहकारी क्षेत्रलाई बलियो बनाउन आवश्यक रहेकोमा जोड दिएकी छिन् । उनले सहकारीबाट व्यावसायिक रुपमा कुखुरापालन, पशुपालन, तरकारी खेती, उद्योग तथा व्यापार, व्यवसाय गर्न सकिने बताउँदै सहकारीले पर्यटन प्रवद्र्धन गर्नका लागि ग्रामीण भेगमा होमस्टे सञ्चालन जस्ता कार्यक्रमहरु ल्याउनुपर्ने बताइन् ।

कृषि उत्पादकत्व बढाउन सामूहिक रुपमा खेती प्रणालीको अवधारणालाई अगाडि सानुपर्ने बताउँदै कृषिको क्षेत्रमा आधुनिकीकरणको माध्यमबाट उर्वरभूमीको प्रयोग गरी उत्पादनमा वृद्धि गर्नुपर्ने मन्त्री थापाले बताइन् ।

उनले किसानहरुलाई लक्षित गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिएको भन्दै न्युन आय भएका विपन्न वर्गलाई अनुदानको व्यवस्था समेत रहेको जानकारी दिएकी छिन् । महिलाहरुको आयआर्जन बढाउन सहकारीमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने बताउँदै सरकारले आर्थिक रुपमा पछाडि परेका महिलाहरुको उत्थान गर्न देशका ३२ जिल्लामा ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम सञ्चालन भैरहेको मन्त्री थापाले बताइन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सदस्य विनोद केसीले सहकारीमार्फत विदेश जानेले तुरुन्तै ऋण पाउने तर स्वदेशमै व्यवसायिक उद्यम गर्न चाहने युवाले ऋण नपाउने अवस्थाको अन्त्य गरिने बताए ।

उनले प्रदेश सरकारमार्फत सहकारीको दीगो विकासमा जोड दिइएको भन्दै अब एउटा सहकारीले कम्तीमा पनि एउटा व्यवसायिक उद्यम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सहकारीले उत्पादन र व्यावसायिकमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला संयन्त्र सदस्य टेकबहादुर विश्वकर्मा, नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्की, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सचिव ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

औपचारिक कार्यक्रम सुरु हुनुपूर्व जिल्लाका सहकारी संघसंस्थामा आबद्ध सहकारीकर्मीहरुले बेनीबजारमा झाँकी, प्लेकार्ड र नारा गुनगुनाउँदै प्रभातफेरी गरेका थिए । सहकारी दिवसमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने दिदीबहिनी, सङ्गिनी, साहारा बचत तथा ऋण सहकारी संस्था, नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी र मुक्तिनाथ बहुउद्देश्यीय सहकारीलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।