थुलुङ भाषा पाठ्यक्रमको लागि गाउँपालिकाको बजेट

0
Shares

रामधन राई, खोटाङ ।
थुलुङ राई भाषाको पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले बजेट बिनियोजन गरेको छ । शैक्षिक–सत्र २०७५÷०७६ देखि खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका २२ विद्यालयमा कक्षा सञ्चालन भईरहेको थुलुङ भाषाको पाठ्क्रमको लागि सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको हो ।

कक्षा १ बाट थुलुङ भाषाको कक्षा सञ्चालन भइरहेकोमा थुलुङ दुधकोशी गाउँपालिकाले कक्षा २ को पाठ्यक्रम तयार गर्नका लागि बजेट विनियोजन गरेको बताईएको छ । थुलुङ राई भाषा पठनपाठन तथा ब्यवस्थापनका लागि उक्त गाउँपालिकाका प्रमुख असिम राई स्वयम समेत सकरात्मक रहेको थुलुङ राई संस्कृति प्रतिष्ठानले जनाएको छ ।

गाउँपालिकाले थुलुङ राई भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पारेर लागू गर्नका लागि अगुवाई गरिरहेको प्रतिष्ठानको नाममा बजेट छुट्याएको संस्कृति प्रतिष्ठानका महासचिब पदम थुलुङले बताउनुभयो । गाउँपालिकाले विनियोजन गरेको रकम थुलुङ राई भाषा पाठ्यक्रम बिकास केन्द्रमार्फत पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको काममा परिचालन गरिने प्रतिष्ठानले जनाएको छ ।

गत वर्ष विभिन्न गाउँपालिका र शुभेच्छुकको आर्थिक सहयोगमा शिशु कक्षा र कक्षा १ को पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको थुलुङ भाषी अभियान्ताको आग्रहमा गाउँपालिकाले प्रतिष्ठानको नाममा बजेट छुट्याएको जनाएको छ । थुलुङ दुधकोशी गाउँपालिकाले थुलुङ भाषाको शिक्षकको व्यवस्थाका लागि समेत पहल गर्ने प्रतिबद्दता समेत जनाएको महासचिव थुलुङको भनाई छ ।

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा पर्ने जलेश्वरी, महेश्वरी, ज्यामिरे, रावाबेँसी गाउँपालिकाको लामीडाँडा र दिक्तेल रुपाकोट मझुवागढीको नुनथला लगायत थुलुङ भाषाको बाहुल्यता भएको विद्यालयमा थुलुङ राई भाषामा पठन–पाठन सुरु गरिएको हो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाका सबै वडा, ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको कुइभीर लगायतमा उक्त भाषामा पठनपाठन भईरहेको छ ।