गृहमन्त्री थापाको देश विकास र समृद्धिको दिशामा अगाडि बढेको दाबी

0
Shares

भक्तपुर ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देश विकास र समृद्धिको दिशामा अगाडि बढेको बताउनु भएको छ ।
चाँगुनारायण नगरपालिकाले आज दुवाकोटमा आयोजना गरेको एकिकृत घुम्ती शिविरको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सरकार छिटो भन्दा छिटो तिब्र गतिमा देशको विकास कसरी गर्न सकिन्छ भनेर लागि परेको बताउनु भएको हो ।

गृहमन्त्री थापाले भन्नुभयो–“सरकार देशलाई तिब्र गतिमा विकासलाई अगाडि बढाउन पञ्च वर्षिय योजना बनाउन लागि परेको छ, अबको पाँच वर्षमा देशको विकासलाई कसरी धेरै भन्दा धेरै उचाईमा लैजान सकिन्छ, अबको २५ वर्षमा देशलाई कस्तो बनाउन सकिन्छ भनेर लागि परेको छ ।”

यसका लागि एकिकृत प्रयास आवश्यक रहेको औल्याउँदै उहाँले नेपालको गौरबलाई स्थापित गर्न र विकासलाई तिब्र गतिमा लैजान शान्ति, शुसासन र स्थायित्व आवश्यक भएको भनाई राख्नुभयो ।

देशको तीन वटै तहको सरकारले सिंहदरबार गाउँ गाउँमा पुर्याउने अभियान सुरु गरेको चर्चा गर्दै उहाँले यसको नमूना आजको शिविर भएकाले यसप्रकारको कार्यक्रमलाई नियमित र अन्य स्थानीय सरकारले पनि संचालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले चाँगुनारायण ईन्जिनियरिङ्ग कलेजको अनियमिततालाई नियन्त्रण गर्न र कलेजलाई सामुदायीक रुपमा संचालन गर्न आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधीसभा सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरमा सरकारको शून्य लगानीमा हनुमन्ते सफाई अभियान सुरु भएको बताउदै जनताको सेवा गाउँ गाउँमा पुर्याउन पनि भक्तपुरले अभियान संचालन गरेको बताउनुभयो ।

त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रुमख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, नगरपालिकाका प्रमुख सोम प्रसाद मि। लगायतले घुम्ती शिविरले जनतालाई गाउँ गउँमा सिंहदरबार पुगेको अनुभूति भएको बताउनुभयो । एकीकृत बृहत घुम्ती शिविरमा यस नगरपालिकाको वडा नं. १ देखि ९ सम्मका १० हजार भन्दा बढी नागरिकले बिभिन्न सेवाहरु लिएका छन् ।

२४ जना विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले शिविरमा स्त्री रोग, बालरोग, हाडजोर्नी, नाक, कान, घाँटी रोग, दन्तरोग, आँखारोग, जनरल मेडिसिन, छातिरोग, छालारोग, ग्यास्ट्रोलोजि रोग, सर्जिकल सेवा, प्राथमिक उपचार गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।

शिविरमा नागरिकता, राहदानी, नाबालक परिचय पत्र, आदिवासी जनजाति प्रमाणपत्र, अपाङ्गता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र लगायतका सेवा प्रवाह गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिेनाले जानकारी दिनुभयो ।

शिविरमा डिभिजन वन कार्यालय भक्तपुरबाट विरुवा वितरण, जनचेतनामूलक कार्यक्रम, डिभिजन खानेपानी कार्यालयबाट खानेपानीको शुद्धता परीक्षण, जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्ता, नेपाल टेलिकमद्धारा ज्येष्ठ नागरिक, भूकम्प पीडित, स्वास्थ्य स्वयंसेविका, अपाङ्ग, एकल महिला, दलित, विद्यार्थी, भूकम्प पीडितलाई निःशुल्क सिमकार्ड वितरण, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट भूकम्प पीडितको गुनासो व्यवस्थापन लगायतका सेवा प्रदान गरिएको छ ।

पुशसेवा तर्फ नाम्ले जुकाँको औषधि वितरण, गोबर परीक्षण, पशु स्वास्थ्य शिविर एवं परीक्षण, पुश बिमा एवं पुश व्यबसाय सम्बन्धी जानकारी, कृषि तर्फ माटो परीक्षण, खाद्य परीक्षण, बिऊँ बिजन वितरण गरिएको प्रशासकीय अधिकृत तिम्सेनाले बताउनुभयो ।
बृहत सिकाई शिविर तर्फ विपद जोसखम न्यूनिकरण, सहकारी सेवा सम्बन्धी जानकारी, नगरपालिकाले प्रदान गर्ने सेवा, विभिन्न निजी तथा सरकारी निकायबाट प्रदान गर्ने सिकाई सेवा, सहकारी एवं स्थानीय उत्पादन सामाग्रीहरुको प्रर्दशनी, सबै सरकारी सेवा प्रदायक निकायको सार्वजनिक सुनुवाई समेत गरिएको छ ।