सिर्जना पन्त, बागलुङ ।
तीव्र रुपमा बढिरहेको शहरीकरणका कारण बागलुङ बजारमा खानेपानीको चरम अभाव पनि बढ्दैं गएको छ । हिउँदमा पानीको कमी हुने र वर्खामा धाराबाट फोहोर पानी आएर थकित बागलुङ बजारबासीहरुको लागि स्वच्छ पानी पिउँन पाउँने आश पलाएको छ ।
दिनानुदिन खानेपानीको समस्या बढ्दै गएको समयमा जिल्लाकै ठूलो बागलुङ नगर सह–लगानी लिफ्ट खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम थालनी भएपछि खानेपानीको समस्या समधानहुने आश पलाएको हो । नगरलाई पुग्ने गरि काठेखोलाको पानी प्रशोधन गरेर लिफ्ट मार्फत बजार ल्याउन थालिएको हो । खानेपानीको चरम अभावमा बसेका बजार बासीहरुले समयमानै आयोजना सम्पन्न हुन सकेमा डेढ वर्षमा नियमितरुपमा शुद्ध खानेपानी पाउनेछन् ।
बाजारवासीलाई चौवीसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले नेपाल सरकार र स्थानीयको सह–लगानीमा लिफ्ट खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि २०७५ साल जेठमा दुई बर्षमा काम सक्नेगरी जयमाता कन्काई जेभी निर्माण कम्पनीले ठेक्का प्राप्त गरेर काम शुरु गरेको छ । अहिले आयोजना स्थल सम्म पुग्ने मोटरबाटो निर्माण, खानेपानी शुद्धिकरण स्थल (प्रशोधन एकाई) निर्माणका लागि कैलाम पोखरीमा एक रोपनी जग्गा व्यवस्थापन तथा खोलाको पानी तान्ने पाँच ओटा इनार (सम्प ओइल) धमाधम निर्माण भइरहेको जयमाता कन्काई जेभिका आयोजना प्रमुख गौतम भुषालले बताउँनुभयो । आयोजना स्थल तथा स्थल सम्म पुग्ने मोटरवाटो निर्माणका लागि छहरा धारा कैलाम पोखरी सामुदायीक बनले बन मन्त्रालयको स्वीकृतमा छ रोपनी जग्गा प्रदान गरेको छ ।
नेपाल सरकारको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत लगानिमा निर्माण भइरहेकोे आयोजानको कुल लागत रु. ४५ करोड २७ लाख २६ हजार ३११ रहेको छ । कुल लागत मध्ये नेपाल सरकारको रु. ३१ करोड ६९ लाख ८ हजार ४१८ र नगर खानेपानी उपभोक्ता संस्थाले रु.१३ करोड ५८ लाख १७ हजार ८९३ खर्च गर्नेछ । उपभोक्ता संस्थाले खर्च गर्ने रकम मध्ये बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा रु. एक करोड बजेट विनियोजन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
अहिले बागलुङ बजारमा काठेखोलाको रेश मुहान र भूदि खोलाको मुहानबाट प्रति सेकेण्ड जम्मा ३० लिटर पानी आउने गर्दछ । नयाँ आयोजना निर्माण सम्पन्न भएपछि प्रति सेकेण्ड ७० लिटरपानी थप हुने नगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष हरि प्रसाद श्रेष्ठले बताउनुभएको छ । ‘काठेखोलाको पानी पाँच ओटा इनार (सम्प ओइल) मार्फत २०० मिटर माथी कैलाम पोखरीमा जम्मा गर्ने छौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘जम्मा भएको पानी शुद्धिकरण गरेर लिफ्ट मार्फत बजार भन्दा माथी रातमाटा पु¥याइन्छ ।’
‘बागलुङ बजारलाई काठेखोला गाउँपालिका रेश र लेखानीबाट आउने पानीले कुलमागको एक तिहाई पानी आफूर्ती गर्न नसकेपछि बैकल्पिक रुपमा लिफ्ट खानेपानी आयोजना निर्माण गर्न थालेका हौं’ नगर खानेपानी उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले भन्नुभयो ‘लिफ्ट प्रविधिमार्फत पानी आउन थालेनी मुहानको पानीलाई पनि निरन्तरता दिइन्छ ।’
लिफ्टमार्फट ल्याइएको पानी संकलनका लागि दुईवटा पाँच÷पाँच लाख लिटरको ट्याङकी र एक ओटा दुई लाख लिटरको ट्याङ्की निर्माण गरी पानी जम्मा गरेर बागलुङ बजारका करिब ६० हजार जनसंख्याले २४ सै घण्टा उपभोग गर्न मिल्ने गरी वितरण गरीन्छ ।
यस खानेपानीले बजार छेउछाउका उपभोक्ताहरुलाई समेत समेट्ने तयारीका साथ रमेटार र पाखाथर लगाएतका क्षेत्रमा ९६८ नयाँ धारा जडान गर्ने आयोजनाको लक्ष्य छ । त्यसका लागि तीन किलोमिटर पाइप बिच्छाइने आयोजनाले जनाएको छ । आयोजनाबाट बागलुङ नगरपालिकाको मुख्य जनघनत्व रहेको वडा नम्बर १,२,३ र ४ का बासिन्दा प्रत्यक्ष लाभान्बित हुनेछन् ।











प्रतिक्रिया