मनोज भट्ट, महेन्द्रनगर ।
नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीलाई मानव तस्करहरुले, तस्करीको ट्रान्जिट प्वाइन्टका रुपमा प्रयोग गर्ने गरेको तथ्य भेटिएको छ । देशको पश्चिम क्षेत्रको सबैभन्दा ठुलो नाकाका रुपमा रहेको गड्डाचौकी नाका भएर दलालहरुले आफ्नो जालो फैलाउँदै लगेका छन् ।
छिमेकी राष्ट्र भारतसंगको खुला सीमाका कारण पश्चिमी सीमा नाका गड्डाचौकीलाई तस्करहरुले तस्करीको मुख्य नाकाका रुपमा प्रयोग गर्ने गरेको पाइएको हो । विभिन्न प्रलोभनमा पारेर दलालहरुले चेलिबेटीहरुलाई गड्डाचौकी नाका भएर बर्षेनी भारत तथा तेस्रो मुलक लैजाने गरेका छन् ।
माईती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार बर्षेनी हजारौँको संख्यामा
दलालको फन्दामा पर्न लागेका चेलिबेटीहरुलाई जोखिमबाट जोगाइएको छ । माईती नेपाल कञ्चनपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो ५ बर्षको अवधिमा पश्चिमी सीमा नाकाबाट एक हजार जनालाई जोखिमबाट जोगाइएको छ । सन् २०१४ मा ८६, सन् २०१५ मा १५९, सन् २०१६ मा ३३८, सन् २०१७ मा २०६ र सन् २०१८ मा २११ गरी पाँच बर्षको अवधिमा उक्त संख्याका मानिसलाई जोखिमबाट मुक्त पारिएको छ ।
यस्तै सन् २०१९ को तीन महिनाको अवधिमा ६१ जनालाई सीमा नाकामा बाट जोखिममुक्त पारिएको छ । माइती नेपाल कञ्चनपुरले पाँच बर्षको अवधिमा विभिन्न ठाउँबाट ७२ जना महिला तथा बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइको छ ।
प्राप्त तथ्याङ्क अनुसार सन् २०१४ मा ६ जना, सन् २०१५ मा १५ जना, सन् २०१६ मा १३ जना, सन् २०१७ मा २४ जना र सन् २०१८ मा ११ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ । सन् २०१९ को हाल सम्म ३ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ । गड्डाचौकी नाकालाई मानव तस्करहरुले ट्रान्जिट प्वाइन्टका रुपमा प्रयोग गर्दै आएको सहजै देखिन्छ ।फलाई–फुकाइर्, रोजगारी दिने जस्ता विभिन्न प्रलोभनमा पारी दलालहरुले पश्चिमी नाका भएर बिदेश लगेर अलपत्र पार्ने गरेका छन् ।
सीमा नाकामा रहेका सूचना परामर्श केन्द्रमा सोधपुछ गर्ने र त्यस क्रममा शंका लागेमा नियन्त्रणमा लिने गरेको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताईन । कञ्चनपुरको गड्डाचौकी नाका र दोधारा–चाँदनीमा एक/एक गरी दुई सूचना परामर्श केन्द्र स्थापना गरी माइती नेपाल कञ्चनपुर चेलिवेटि बेचबिखन नियन्त्रण तथा जोखिममा परेका महिलाको उद्धारमा सक्रिय छ ।
जनचेतनात्मक कार्यक्रममा माइती नेपाल
सीमा नाकामा निरन्तर निगरानी गर्दै आएको माइती नेपाल कञ्चनपुरले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ग्रामीण तथा सहरी क्षेत्रका स्थानीयलाई दलालहरुबाट सजग गराउनका लागि माइती नेपालले जनचेतनात्मक कार्यक्रम गर्दै आएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताईन ।
उनका अनुसार माइती नेपालले विभिन्न विद्यालयमा गएर विद्यार्थीलाई अनुशिक्षण गर्ने गरेको छ । यस्तै सीमा नाकाका बस्तीमा चेलिवेटि बेचबिखनका घटना न्यूनिकरणका लागि महिला अनुशिक्षण कार्यक्रमको योजना बनाइएको छ । ‘ जोखिममा परेका महिलाहरुको उद्धार गर्ने, उनिहरुलाई सीपमूलक तालिम दिई आफ्ना खुट्टामा उभिन सक्ने बनाउँछौँ ।
यस्तै सीमा नजिकका गाउँमा महिलाहरुलाई अनुशिक्षणको दिने कार्यक्रमहरु तय भएका छन्, जसबाट बेलिवेटी बेचबिखनका घटनामा कमी ल्यान सहयोग पुग्ने छ ।’ माइती नेपाल कञ्चनपुरकी संयोजक भट्टले भनिन् ।











प्रतिक्रिया