नेपालको पानी निर्यात गर्न कतारको चासो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपालको हिमालय क्षेत्रको पानी आफ्नो मुलुक लान खाडी मुलुक कतारले चासो लिएको छ । नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले खानेपानी मन्त्री विना मगरसँगको भेटवार्तामा यस्तो बताउनुभएको हो ।

यसबारेको विस्तृत प्रक्रिया पूरा गरी छिट्टै पानी निर्यात गर्नेबारेमा उहाँहरु वीच मंगलबार छलफल भएको हो । ‘दुवै मुलुकले आ–आफ्नो तर्फबाट आवश्यक होमवर्क गर्ने कुरा भएको छ, छिट्टै यो प्रकृया अघि बढाउने बारेमा मन्त्री र राजदूत टोली वीच छलफल भएको छ’ –खानेपानी मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

मन्त्री मगरले स्प्रीङ वाटर कतार निर्यात गर्ने आन्तरिक तयारीको गृहकार्य गर्न खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दासलाई निर्देशन दिनु भएको छ । सो भेटवार्तामा राजदूत हेलले नेपालको खाने पानीको स्वादसँग आफू परिचित रहेका उल्लेख गर्दै हिमालय क्षेत्रको पानी पिउन कतार आतुर रहेको बताउनुभयो । ‘नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त रहेको छ, म पानीको स्वादसँग अभ्यस्त छु, पानी निर्यात गर्ने विस्तृत छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गर्न कतार तयार छ’ –उहाँले भन्नुभयो ।

यसै वीच कतारमा कार्यरत नेपाली श्रमिकका समस्याका सम्बोधन गर्ने बारेमा द्धिपक्षिय छलफल गर्न कतारी श्रम राज्यमन्त्री अर्को साता नेपाल आउने तयारीमा जुट्नु भएको छ । द्विपक्षीय श्रम सम्झौताको वातावरण बनाउन राज्यमन्त्रीको नेपाल भ्रमण उपलब्धीपूर्ण हुने काठमाडौंस्थित कतारी दूतावास स्रोतले जनाएको छ । ‘राज्यमन्त्रीको दुई दिने भ्रमणमा नेपाली श्रमिककाबारेमा महत्वपूर्ण निर्णय हुँदैछ’ –दूतावासका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।