विनोदसिंह विष्ट, बैतडी
गाउँमा कुनै मान्छे बिरामी हुदा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता, गाउँमा उत्पादित तरकारी समेत सडक नहुँदा बारीमै कुहिँने समस्या रहेको थियो बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ कलौनका बासिन्दाको ।
तर कलौनमा सडक पुगेपछि स्थानीयहरुको त्यो समस्या हटेको छ भने बर्षौंदेखिको सडक सपना पनि पूरा भएको छ । दशरथचन्द नगरपालिका र वडा नं १ को कार्यालयको पहलमा गाउँमा सडक पुगेपछि स्थानीयहरु खुसी भएका छन् ।
दशरथचन्द राजमार्गदेखि सात किलोमिटरको दुरीमा रहेको सो ठाउँमा सडक नहुँदा स्थानीयहरुले उत्पादन गरेका तरकारी समेत बजार सम्म पुर्याउन निकै सकस हुने गरेको थियो । गाउँमा सडक पुगेपछि उत्पादित तरकारीलाई बजार सम्म पुर्याउन सहज भएको किसान परमानन्द भट्टले बताए । उनले भने“ आफूले फलफूलको नर्सरी समेत स्थापना गरेकाले नर्सरीबाट उत्पादित बोटविरुवाहरु विक्रिका लागि बजार सम्म पुर्याउन पनि सहज भएको छ ।”
यस्तै गाउँमा सडक पुगेपछि बालबालिकादेखि वृद्धवृद्धा सम्मलाई सजिलो भएको छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन होस अथवा अन्य बिरामीहरुलाई अस्पताल पुर्याउन सडकले सजिलो भएको महिला स्वास्थ्य स्वयंसेविका ईश्वरी भट्टले बताईन् ।
गाउँमा सडक पुगेपछि आफूहरुलाई निकै खुसी लागेको स्थानीय बयोवृद्ध शेरबहादुर पाण्डेले बताए । आफ्नै जीवनकालमा गाउँमा सडक पुगेपछि निकै खुसी लागेको छ उनले भने“सडक निर्माणका लागि दबाब दिन अनसन समेत बसेका हरिजितसिंह टेरले गाउँमा सडक पुग्दा आफ्नो मनमा आनन्द छाएको छ”
स्थानीयहरुले अब सो सडकलाई स्तोरन्नती गर्नुपर्ने माग गरेका छन् । गाउँमा सडक पुगेपछि अब खानेपानीको सुविधा समेत पुर्याउनुपर्ने स्थानीयहरुको माग छ ।
दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालय र दशरथचन्द नगरपालिकाको २८ लाख लगानीमा सडक निर्माण भएको हो । दशबर्ष अघिदेखि निर्माण शुरु भएको सडकले यो बर्ष निर्माणमा गति पाएको हो ।
चुनावका बेला गाउँमा सडक पु¥याउने प्रतिबद्धता गरेकाले आफूले सडक निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम गरेको दशरथचन्द नगरपालिका १ का वडाध्यक्ष भुवनराज भट्टले बताए ।
यस्तै, दशरथचन्द नगरपालिकाले डेढ वर्ष अवधिमा ११ वटै वडाका केन्द्रसम्म कच्ची सडक पुगेको जनाएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले वडाका सबै केन्द्रसम्म सडक पुगेको र अब खानेपानी, सिँचाइ र अन्य भौतिक पूर्वाधारका काममा जोड दिइने बताए ।











प्रतिक्रिया