विजय नेपाली, पोखरा
पोखराको फिर्के खोला अतिक्रमण बढ्दो क्रममा छ फिर्केखोला अतिक्रमणको विषय बारम्बार न उठेको भने होइन । यसको लागि महानगरले केही कदम चाले पनि विचौलियाहरुको नजरमा फिर्के परेको छ ।
ज्ञानबहादुर कोइराला दाजुभाइलगायत केही व्यक्तिले फिर्केखोलाको बिचमा नै तटबन्ध लगाई जग्गा बढाइरहेका छन भने लायन्स भवन, लिटिल स्टेप बोर्डिङ स्कुल, बहिरा संघ भवन, इलेक्ट्रिक एसोसिएसन कार्यालयका भवन समेत फिर्के अतिक्रमण गरि बनाएका छन ।
आफ्नो जग्गाको संरक्षण गर्ने नाममा खोला अतिक्रमण गरि बिच भागबाटै तटबन्ध लगाउने काम भएको देखिन्छ । अँधेरी कुनादेखि फेवातलसम्मै फिर्के खोलाको मापदण्ड मिचिएर झण्डै २ सय संरचना बनेका छन् । फिर्केमा बनेका संरचनामा सरकारी एव गैह्रसरकारी संघ संस्था देखि नामि व्यक्ति समेत छन् उक्त क्षेत्रमा १ सय ९२ घरटहरा मापदण्डविपरीत छन् । सरकारी भवन ७, पक्की घर ७२, कच्ची घर टहरा ८६, विद्यालय तथा कलेज ३, मठमन्दिर २ र ११ समाज घर र तथा संघसंस्था रहेका छन । यसभित्र कतिपय संचना महानगरपालिकाको अनुमति लिएरै निर्माण गरिएका छन्।
महानगरले गत चैत्र २ गते फिर्के खोला रेखांकनको काम अघि बढायो। महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा बनेको समितिले रेखांकनपछि प्रतिवेदन बुझाएर त्यसमाथि छलफल समेत भएको थियो ।
फिर्के अतिक्रमण दयनिय अवस्था देख्दा दुख लागेको र अतिक्रमण रोक्न मेयरले पाइला नचाले जवाफदेहिनताले कब्जा गरेको भन्ने बुझ्नु पर्ने नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले बताए । “कयौ रोपनी जग्गा अतिक्रमण गरेर करोडौं रुपैया आर्जन गर्न लागेको देखियो, तत्कालिन पोखरा उपमहानगरपालिका हुँदा संयन्त्र सदस्य समेत रहेका ज्ञानबहादुर कोइरालाले हालिमुहाली गरेको र अहिले पुनः फिर्केको बिचबाट तटबन्ध लगाई जग्गा बढाउने काम गरेको देखियो“ पौडेलले भने । कानुन सबल नभए शक्ति केन्द्रहरुले दमन गरिरहने र कानुन मिच्नु अपराधी क्रियाकलाप रहेको बताए ।
फिर्के अतिक्रमण समयमै नरोके फेवाताल समेत पुरिने खतरा समेत बढ्ने उनले बताए । त्यस्तै पोखरा महानगरका प्रवक्ता एवम वडा न. ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले सार्वजनिक जग्गा मिच्ने तथा अतिक्रमण गर्ने जोकोहीलाई समेत नछाड्ने प्रतिबद्धता व्यक्त गरे । “फिर्के प्राकृति सम्पत्ति हो, यसको अतिक्रमण गर्नु अपराध हो हामी कार्वाही गर्छौ यो हाम्रो दायित्व हो“ अध्यक्ष नेपालीले बताए । अनुमतिबिना फिर्के खोलामा तटबन्ध लगाएको जानकारी उनले दिए ।
जग्गा संरक्षण गर्ने अधिकार भए पनि नियमविपरीत गर्नु नपाउने नेपालीले बताए । वडा ५ को पुर्वी सिमानामा रहेको फिर्के दोहन निकै बढेको वडा सदस्य उज्जवल खत्रीले बताए । “भूमाफियाले अतिनै दोहन गरेको प्रत्येक्ष देखिएको छ, अब कानुन अनुसार कदम चाल्ने छौ “ उनले भने । फिर्के दोहन प्रती ध्यानाकर्षण भएको र फिर्के संरक्षणको लागि माथिल्लो तह सम्म जान परे पनि पछि नहट्ने उनले बताए ।
आठ किलोमिटर लम्बाई रहेको फिर्केको १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ । फिर्के अतिक्रमणप्रति राज्य निरीह देखिएको छ, फिर्के अतिक्रमण नरोकिने हो भने फिर्केखोला नै लोप हुने खतरा देखिन्छ । यसका लागि स्थानीय स्तरबाटै कारबाही गर्नुपर्ने देखिन्छ यसप्रति महानगर भने मौन देखिएको छ ।











प्रतिक्रिया