क्रसर उद्योगविरुद्ध मोरङका स्थानीय रिले अनसनमा

0
Shares

सरोज यादव, विराटनगर ।
मोरङको उर्लावारी १ मा मानववस्तीको बीचमा स्थापना भएका क्रसर उद्योगको विरुद्धमा स्थानीय आन्दोलित भएका छन । मापदण्ड विपरित वस्तीकोबीचमा स्थापना भएका क्रसरले धुलो, ध्वनी तथा वातावरणीय प्रदुषणले मानिसहरुमा असर परेको जनाउँदै विगत ५ दिनदेखि उर्लावारी १ मा विहीवारे झारसाँदीमा त्रिपाल टाँगेर रिले अनसन गरिरहेका छन् ।

उनीहरुले क्रसरबाट प्रत्यक्ष पिडीत शम्मरबहादुर राईको संयोजकत्वमा अनसन सुरु गरी क्रसरमा जाने ट्रिपर, लोडर सहितका सामग्री अवरोध गरेका छन् । घर वस्तीको ७० मिटर मात्र दुरीमा रहेको पञ्चेश्वर सहितका क्रसर उद्योगको आवाजले राती सुत्न वाधा गरेको साथै धुलोले वालीनालीलाई असर गरी मानिसहरु विरामी पर्न थालेको स्थानीयहरुको भनाई छ । क्रसरका कारण एउटा मात्रै समस्या होइन आफूहरुले चौबीसै घण्टा समस्या खेप्नुपरेको स्थानीय रमेश रम्तेलले बताए । क्रसरको ढुंगा गिट्टीले आफ्नो खेत समेत पुर्न थालेको संघर्ष समिति संयोजक शम्मरबहादुर राईले बताए ।

वस्ती भन्दा टाढा रहनु पर्ने क्रसर उद्योग नजिक नजिकमै ५ वटा स्थापना भएका छन् । स्थानीय सँधियारलाई समेत जानकारी नगराई वातावरणलाई असर पर्नेगरी उद्योग खोलिएको भन्दै पूर्व आएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । १ हजार घरपरिवार प्रत्यक्ष रुपमा यसबाट असर पर्ने भन्दै प्रदेश सरकार, नगरपालिका समेतमा निवेदन दिने मात्र होइन उच्च अदालतमा समेत मुद्धा दायर गरेका छन् ।

क्रसर स्थापनामा सिफारिस गर्ने र स्वीकृति दिने निकायले चलखेल गरेको उनीहरुको आरोप छ । वस्तीमा क्रसर उद्योग सञ्चालन भएको र त्यसको विरोधमा स्थानीय आन्दोलित भएको जानकारी पाएपछि उर्लावारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी सो स्थलको निरीक्षण गरेकी छन । सो क्रममा उनले त्यहाँ मानववस्तीलाई असर पर्ने गरी क्रसर सञ्चालन भएको देखिएको वताइन ।