सामाजिक संस्था मैत्री ऐन निर्माण गर्नुपर्नेमा सरोकारवालाको जोड

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
सरकारले निर्माण गर्न लागेको सामाजिक संघसंस्था ऐन संस्था मैत्री हुनपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरको १६ औं वार्षिक साधारणसभा तथा नागरिक सम्मेलनका सहभागिहरुले कानून आयोगले सरकारलाई बुझाएको सामाजिक संस्था ऐनको मस्यौदालाई थप परिमार्जन गरि संस्था मैत्री ऐनका रुपमा जारी गर्न माग गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले सरकारले नियमन, व्यबस्थापन, समन्वय, सहकार्य र साझेदार निकायका रुपमा संस्थालाई भूमिका दिनसके समृद्ध नेपाल र सुखी नेपालीको सरकारको लक्ष्य पुरा गर्नमा संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले अख्तियारलाई समेत सघाउदै भक्तपुरमा भ्रष्टाचार मुक्त जिल्ला बनाउन अभियान नै संचालन गर्ने बताउदै भन्नुभयो–“भक्तपुर जिल्लालाई शुसासन र भ्रष्टाचार मुक्त अभियान बनाउन अभियान सुरु गर्दैछौ, यसका लागि हनुमन्ते सफाई अभियानमा जस्तै अभियन्तहरु खटाईने छ, जनताको चाप बढी हुने र आर्थिक कारोबार बढी हुने कार्यालयमा प्रत्येक दिन पाँच जना अभियन्ता नै राखेर अभियान संचालन गर्दछौ ।” जिल्ला प्रशासन कार्यालय र प्रहरी परिषरसंग यसबारेमा छलफल भईरहेको बताउदै उहाँले भ्रष्टाचार र आर्थिक लेनदेन गर्ने कर्मचारी र बिचौलियालाई कारबाहीको दायरामा ल्याउने उहाँको भनाई थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष जितराम लामाले सामाजिक संस्थाहरु सरकारको सहयोगी निकायको रुपमा सामाजिक, आर्थिक, साँस्कृतिक र भौतिक विकासको साझेदारका रुपमा सरकारलाई सहयोग गरिरहेको अबस्थामा संस्थाहरुको भूमिकालाई कमजोर बनाउने गरि संस्था ऐन बन्न नहुने बताउनुभयो । उहाँले संस्थालाई नियन्त्रण र निष्तेज गर्ने ढंगबाट कानून निर्माण गर्नु भन्दा पनि संस्थाको भूमिकालाई सामाजिक हितका लागि प्रभावकारी भूमिका प्रदान गर्नेगरि कानून बन्नु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले देशको परिवर्तन र विकासमा गैससको महत्वपूर्ण भूमिका रहदै आएको बताउदै सरकारले गैससलाई गलत रुपमा हेर्न नहुने औल्याउनुभयो ।

कार्यक्रममा गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले गैरसरकारी संस्थालाई डलर खेती गर्ने संस्थाका रुपमा हेर्न नहुने बताउदै निःस्वार्थ रुपमा सामाजिक सेवामा समर्पित गैससहरुको मूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकारले सामाजिक संस्थाहरुसंग समन्वय गर्दै अगाडि बढे विकासमा प्रभावकारिता बढ्ने बताउनुभयो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालमुकुन्द सुवालले संस्थाले प्रदान गर्दै आएको उत्कृष्ट संस्था पुरस्कारको प्रभावकारीता र पुरस्कार वितरणका लागि स्थापना गरिएको अक्षयकोष स्थापनाकोबारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा गैसस भक्तपुरका सचिव नारायणप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पहलमान श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।त्यस अवसरमा संस्थाका उपाध्यक्ष जयराम थापा, सहसचिव अनिता पाण्डे, सदस्य शान्ता मैनाली चुडालले गैससको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।

त्यसैगरि गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरले यसवर्षको उत्कृष्ट गैरसरकारी संस्था पुरस्कार भक्तपुरको यातु महादेवमा संचालन हुदै आएको मानव कल्याण समाजलाई प्रदान गरेको छ । समाजले जेष्ठ नागरिक, महिला तथा बालबालिकाको उद्धार, संरक्षण र उपचार सडक मानवलाई आश्रय प्रदान गर्दै आइरहेको छ ।

नगद रु. १० हजार र सम्मान पत्र सहितको उक्त पुरस्कार समाजका अध्यक्ष सुमित्रा चौलागाईलाई सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले प्रदान गर्नुभयो । कार्यक्रममा तीन लाखको उत्कृष्ट संस्था पुरस्कार अक्षयकोष स्थापनाको घोषणा समेत गरिएको छ ।