ढिलासुस्ती गर्ने निर्माण व्यवसायीप्रति सरोकारवालाको आक्रोस

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङस्थित मध्यपहाडी लोकमार्ग लगायत राष्ट्रिय महत्वका सडक तथा पुल निर्माणमा चरम ढिलासुस्ती र कम गुणस्तरको काम गर्ने निर्माण ब्यवसायीप्रति स्थानीयले आक्रोस ब्यक्त गरेका छन् । सरोकारवालाले कालोपत्रेको काम भईरहेको मध्यपहाडी लोकमार्ग अन्र्तगतका बिभिन्न खण्ड, महुरे–फोक्सिङटार सडक कालोपत्रे लगायतको काममा भएको ढिलाई र कम गुणस्तरको बिषयमा निर्माण व्यवसायीबीच प्रश्न उठाएका हुन् ।

जिल्लाको बतासे र राजापानी जोड्ने साप्सु खोलाको सडक पुल, साप्सु खोलाकै मात्तिम र लफ्याङ जोड्ने सडक पुल, मनमायाँ राई खानीडाँडा बिमानस्थल मर्मत लगायतका ठूला आयोजनाको काम सम्बद्द निर्माण ब्यवसायीलाई स्थानीयले चेतावनीको भाषामा प्रश्न उठाएका हुन् ।

ठेकेदारको चरम ढिलासुस्ती र गुणस्तरहिन काम भएको भन्दै गुनासो आएपछि जिल्ला समन्वय समितिले सम्वद्ध निर्माण कम्पनीका प्रमुख तथा प्रतिनिधिलाई छलफलका लागि बोलाएको थियो । छलफलमा उपस्थित जनप्रतिनिधि, नेता, स्थानीय लगायतले सडक, पुल, भवन निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरहिन कामका बिषयमा निर्माण कम्पनीका प्रतिनिधिमाथि कारबाहीको माग गरेका छन् । योङ कम्यूनिष्ट लिग खोटाङका अध्यक्ष मिलनचन्द्र राईले अटेर गर्ने ठेकेदारलाई कानूनी दायरामा ल्याउन माग गर्नुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले ढिलासुस्ती गर्ने र गुणस्तहिन काम गर्ने ठेकेदारलाई नछाड्ने चेतावनी दिनुभयो ।