‘मानवीय स्मारक’ का लागि दुई करोड दश लाख

0
Shares

हेटौंडा ।
मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडाको भवन (मानवीय स्मारक) निर्माणका लागि दुई करोड दश लाख एकहत्तर हजार सहयोग संकलन भएको छ । आश्रमले फागुन १३ गतेदेखि २० गतेसम्म हेटौंडामा गरेको मानवता प्रवद्र्धन ज्ञानविज्ञान अनुष्ठानबाट सहयोग प्राप्त भएको हो ।

अनुष्ठानमा मानवसेवा आश्रमका प्रमुख संरक्षक डा.गोबिन्द टण्डनले दश लाख पचास हजार, समाजसेवी पुरनबहादुर जोशी एवम् हेटौंडा स्कुल अफ म्यानेजमेन्ट परिवारले दश लाख, हेटौंडा उपमहानगरपालिकाबाट दश लाखसहित २ हजार ५ सय ४० जनाले सहयोग गरेका हुन् । जसमध्ये २२ लाख ८९ हजार ६ सय ९६ रुपियाँ बराबरको जिन्सी प्राप्त भएको छ ।

भवन निर्माणपश्चात् खुला आकाशमुनि रात बिताउन विवश ३ सय जना बेसहारा तथा जीवन जोखिममा रहेका सहयोगापेक्षी मानवलाई आश्रमले उक्त भवनबाट सेवा दिइनेछ । २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडक मानवरहित राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य तय गरेको आश्रमको हाल १२ जिल्लामा १४ शाखाबाट ६ सय ५० बढी घरबारविहीन, बेसहारा सडकमानवले सेवा लिइरहेका छन् ।

एसियन पेन्ट्सले निर्माणाधीन भवनको रङ लगाइदिने भएको छ भने युनिलिभिर नेपालले ९ लाख बराबरको एक हजार कार्टुन साबुन अनुष्ठानका क्रममा हस्तान्तरण गरेको थियो । कुनै वैदेशिक दातृ निकायको सर्तसहित सहयोग नलिने प्रतिवद्धता गरेको आश्रले यस्तै किसिमको जनमन संकलन अभियानबाट मानवसेवा आश्रमका कार्य सञ्चालन गरिरहेको छ ।

हेटौंडा–९, लामसुरेधापमा २०७२ सालको भुकम्पपछि मानवसेवा आश्रमले आफ्नो मुख्य कार्यालय भवन निर्माण शिलान्यास गरेको थियो । ५ करोड लागत अनुमान गरिएको २ तले भवनलाई तीन तले बनाइने भएको छ ।

२०७६ भदौ १३ गते मानवसेवा आश्रमको सातौं वार्षिकोत्सवको अवसर पारेर उक्त भवनमा सेवाग्राहीलाई गृहप्रवेश गराइने मानवसेवा आश्रम केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । हेटौंडाको भवन निर्माणसँगै चितवन, पोखरा, काठमाडौं र गोरखामा भवन निर्माण कार्य सुरु गर्ने संस्थाको योजना छ ।