कालिकोट कारागारका कैदीबन्दी आन्दोलित

0
Shares

कालीबहादुर मल्ल, कालिकोट ।
जिल्ला कारागार कालिकोट भित्र बिरामी परेका कैदीबन्दीलाई कारागार प्रशासनले उपचार नगराएको भन्दै कारागारमा रहेका कैदीबन्दीले आन्दोलन गरेका छन् ।

गम्भीर बिरामी अवस्थामा रहेका तिलागुफा नपा–४ का मानबहादुर शाही, पचालझरना गाउँपालिका–३ का भैरव शाही र नरहरीनाथ गाउँपालिका–३ का रमेश बुढालाई प्रहरी प्रशासनले उपचारका लागि जिल्ला अस्पताल नलगेपछि आइतबारबाट आन्दोलन गरेको कैदीबन्दीहरूले जनाएका छन् ।

‘बिरामी भएकालाई उपचारका लागि लैजान भन्दा उल्टै प्रहरीले हातपात र्गयो । बिरामी गम्भीर अवस्थामा छन्, त्यसैले हामीले गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका छौँ ।’– कैदी मानबहादुर शाहीले भने ।

उनले प्रहरी प्रशासनले कैदीबन्दीमाथि सधैँ हस्तक्षेप गर्ने गरेको र कैदीबन्दी बिरामी भएको २–३ दिनसम्म पनि उपचारमा चासो नदेखाउने गरेको आरोप लगाए ।

चैत १८ गते जिल्ला कारागारको अनुगमनका लागि पुगेका इन्सेक जिल्ला प्रतिनिधि र पत्रकारसँग कैदिबन्दीहरूले जिल्ला कारागारमा रहेका प्रहरी तथा कर्मचारीले बिरामीमाथि अभद्र व्यवहार गर्ने गरेको आरोप लगाएका हुन् ।

जिल्ला कारागारका निमित्त प्रमुख मोहनकुमार शर्माले एसइइ परीक्षा र अदालतमा अन्य कामका कारण ब्यस्त हुँदा समयमै प्रहरीले बिरामी अस्पताल लान नसकेको प्रतिक्रिया दिए ।

कारगारका प्रहरी इञ्चार्ज खुसिलाल चौधरीले भने बिरामी भएका कैदी कारागारका नाइके रहेका र हत्कडी लगाएर अस्पताल जान नमानेको हुँदा सो समस्या उत्पन्न भएको बताए ।