माओवादी आधार ईलाकामा धार्मिक महायज्ञ

0
Shares

महेश न्यौपाने, रोल्पा ।
दश वर्षे सशस्त्र युद्धमा धार्मिक गतिविधि अपराध मानिन्थ्यो । माओवादीले घोषणा गरेको आधार ईलाका र जनसत्ता चलेको स्थानमा धार्मिक गतिविधि पूर्णतः प्रतिवन्धित थियो । गाई काटेर खानु सामान्य थियो ।

अधिकांश मन्दिरहरु ध्वन्स गरिएका थिए । वचे खुुचेका पनि भग्नावशेष । विभिन्न देवी देवताको पुजा गर्न वनाइएका “थान”का ध्वजा, त्रिशुल र घण्टहरु वाटाघाटामा यत्रतत्र वेवारिसे थिए । युद्धकाल भरि धर्मलाई अफिमको संज्ञा दिइ कार्यकर्ता र जनतालाई प्रशिक्षित गरिएको थियो ।

शान्ती स्थापना संगै पुराना मान्यता फेरिदै गए । धार्मिक आस्था भएकाहरु भत्किएका मन्दिर पुनर निर्माण गर्न थाले । देवी देवताको पुजा चल्दै गयो । धार्मिक गतिविधि क्रमशः खुकुलो हुदै गयो । धार्मिक स्वतन्त्रता संगै चलन चल्तीका चाड पर्व मनाउने स्वतन्त्रता पुनरस्थापित भयो । सर्वसाधारण जनता दश वर्षे द्धन्द अघिकै अवस्थामा फर्किए ।

पछिल्ला दिनमा आधार ईलाका भनिएका तिनै ठाउँहरुमा धार्मिक महोत्सव हुन थालेका छन । तत्कालिन माओवादीको वलियो आधार मानिने पश्चिमोत्तर रोल्पाको रांकोटको एक विद्यालयले नमूना विद्यालय संचालनका लागि भन्दै दश दिन लामो धार्मिक महायज्ञ गर्ने भएको छ ।

तत्कालिन माओवादी केन्द्रवाट निर्वाचित वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुकवहादुर वुढा उक्त महायज्ञको संयोजक वनि समग्र कार्यक्रमको व्यवस्था गरिरहेका छन । तत्कालिन माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला स्तरीय नेता रहेका विद्यालयका प्रधानाध्यापक गोपाल केसी महायज्ञ सफल पार्न दिनरात खटिरहेका छन ।

महायज्ञ संचालनको लागि अधिकांश पूर्व माओवादी नेता कार्यकर्ता सम्मिलित महोत्सव संचालनका लागि मुल समारोह समिति समेत गठन गरिएको छ । तत्कालिन माओवादी केन्द्रको शक्तिशाली जग मानिने सो स्थानमा हुन थालेको महायज्ञ प्रति विभिन्न टिका टिप्पणी समेत सुनिन थालिएको छ । विद्यालयको अगुवाईमा हिन्दु धर्मको प्रचार गर्न थालेको भन्ने गुनासो आफुहरुले पनि सुनेको विद्यालयका प्रधानाध्यापक गोपाल केसीले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

महोत्सव मार्फत विद्यार्थी तथा अभिभावकहरुमा सकारात्मक सोंचको विकास गर्न मद्धत पुग्ने अपेक्षा गरेका छौ प्रधानाध्यापक केसीले भने । महोत्सववाट संकलित रकमवाट विद्यालयले संचालन गरेको प्राविधिक शिक्षालाई थप सुधार गर्न मद्धत गर्छ भन्ने अपेक्षा गरेका छौ केसीले भने । महायज्ञले अभिभावक, विद्यार्थी र शिक्षकलाई नैतिक शिक्षा पनि प्रदान गर्ने भएकाले थप अनुशासित र कर्तव्यनिष्ट वनाउने मद्धत गर्ने प्रधानाध्यापक केसीको भनाई छ ।

नमूना विद्यालय गुरुयोजनामा धार्मिक महायज्ञ गर्ने कार्यक्रम समावेश गरिएकाले सोही योजना कार्यन्वयन गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष शुकवहादुर वुढाले जानकारी दिए । जनताको सहभागितामा निर्माण गरिएको योजना कार्यान्वयन गर्न लागिएको वताउदै कुनै धर्म विशेषको प्रचार लागि महायज्ञ भन्नु सरासर गलत भएको अध्यक्ष वुढाको भनाई छ ।

विद्यालयलाई जिल्लाकै नमूना वनाएको वताउदै यसको स्तर वृद्धीका लागि आर्थिक संकलन र नैतिक शिक्षाका लागि महायज्ञ संचालन गर्ने सोच वनाएका हौ अध्यक्ष वुढाले भने ।
विद्यालयले आगामी वैशाख १ देखी १० गते सम्म श्रीमद्भागवत धनधान्यञ्चल विराट नवाह ज्ञान महायज्ञ संचालन गर्ने भएको छ ।