मजदुर हत्या प्रकरणः भिनाजुसंगको सम्बन्ध स्थापित गर्न श्रीमानको हत्या गरेको खुलाशा

0
Shares

दुईसातामा ३ वटा हत्या, १४ अभियुक्त पक्राउ
यमलाल भुसाल, बुटवल ।
सुन्दा पनि अच्चम लाग्ने घटना बुटवलमा भएको छ । बुटवलको अटोभिलेजमा हत्या भएका फिरोज खानको आफ्नै श्रीमतिसंग मिलेर साडुदाईले हत्या गरेको रहस्य खुलेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. १ मैनावगर स्थित बुटवल अटोभिलेजको ज्योति मोटर्स अटो ग्यारेजमा काम गर्ने बिहार प्रदेश चम्पारण वेतीया जिल्ला टाउन थाना भारतका ४३ वर्षीय खानको यहि चैत १३ गते साँझ करिव ८ बजेको समयमा गोली हानी हत्या भएको थियो ।

काम सकेर डेरामा जाने क्रममा हत्या गरिएको खान घटनाको अनुसन्धानका क्रममा आफ्नै श्रीमति ३० वर्षीय साहीन खातुनसंग मिलेर साडु दाई कादिर अन्सारीले हत्या गरेको खुलेको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार खानकी श्रीमति साहीन र उनका भिनाजु कादिर अन्सारीबिच लामो समयदेखि अनैतिक सम्बन्ध रहँदै आएको थियो ।
भारतको बिहार प्रदेश वेतिया निवासी कादिर समय-समयमा खातुनलाई भेट्न बुटवल आउने जाने गर्थे । सोही क्रममा घटना भएको दिन बिहान नवलपरासीको त्रिवेणी नाका हुँदै कादिर बुटवल आएको र साली साईनसंग भेटघाट गरेका थिए ।

साहीनको सहोदर दिदीको मुत्यु पश्चात कादिरसंग प्रेम सम्बन्ध रहेको र सोही सम्बन्धलाई विवाहमा परिणत गर्नकालागि साली भेनाको मिलेमतोमा गोली प्रहार गरि कादिरले फिरोजको हत्या गरेको प्रहरीले जनाएको छ ।

साँझ फिरोज डेरामा आउने समय मिलाएर एक्कासी कादिरले गोली हानी फारार भएको प्रहरीले जनाएको छ । उसको हत्या पछि प्रहरीको अनुसन्धानका क्रममा मृतक फिरोजकी श्रीमति र छोराहरुबाट फरक फरक बयान आएपछि प्रहरीले परिवारमा केन्द्रीत भएर अनुसन्धान बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले बताउनु भयो ।

हत्या गरिएका फिरोजकी श्रीमती साहीनलाई पक्राउ गरेको छ भने गोली हान्ने कादिर फरार रहेको र उसको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी गराउनु भयो ।

त्यस्तैगरी गत फागुन २६ गते रुपन्देहीको देवदह नगरपालिका घोडाहामा हत्या गरिएका दरुण दल नगर समिति सदस्य अनिस पुरीको हत्यामा संलग्न रहेका ४ नावालक सहित १२ जनालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्धा चलाएको छ ।

गत फागुन २६ गते साँझ करिव ८ बजेको समयमा साथीसंग मोटरसाईकलमा सवार पुरीलाई दाउरा तथा चिट्पट प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले देवदह ९ घोडाहाका २१ वर्षीय अर्जुन सारु, २१ वर्षीय आकाश थापा मगर, २१ वर्षीय जीवन भण्डारी, २० वर्षीय बिश्वास गुरुङ, २१ वर्षी शिशिर राना, २० वर्षीय मनोज क्षेत्री, पाल्पा मदनपोखरा घर भई हाल देवदह ९ बस्ने १८ वर्षीय कमल बौडेल सार्की, पाल्पा तिनाउ गाउँपालिका ५ घर भई हाल घोडाहा बस्ने २० वर्षीय ताराबहादुर बराल र अन्य ४ जना नावालक पक्राउ गरि कर्तव्य ज्यान मुद्धा दर्ता गरीएको प्रहरीले जनाएको छ ।

लमजुङ मध्येनेपाल नगरपालिका वडा २ सोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले पोखराका ६८ वर्षीय बलबहादुर सुनारलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्धामा म्याद लिई थप अनुसन्धान अंगाडी बढाएको छ ।

यार्सागुम्बाको कारोवार गर्ने सल्लाह अनुसार यहि चैत १ गते बुटवल आएका पाण्डेलाई बुटवल ११ मझुवा र बिनापातेको बिच तिनाउ नदिको बगरमा हत्यागरी झाडीमा फालिएको थियो । कास्कीको पोखरा महानगरपालिका वडा नं. ३० डुडाकोमुख बस्ने दिपक मल्ल, कर्णबहादुर मल्ल, देवीराज ढकाल, कर्णबहादुर थापा, महेन्द्रकुमार मल्ल, देवीबहादुर ढकाल, बलबहादुर बिक लगायतका उपनामले फरक फरक स्थानमा फरक फरक पहिचान बनाएको बलबहादुर सुनारलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले आफ्नै घर नजिकैबाट पक्राउ गरिएको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

यार्सामा लगानी गर्न भनी ३ लाख ८८ हजार रुपैंया नगद लिएर आएका पाण्डेलाई सुनारले झाडीमा लगी ढुंगाले हानेर हत्या गरेको र पाण्डेको पहिचान समेत मेटाउनकालागि अनुहार पुरै ढुंगाले कोपेको भएपनि उसका कपडाबाट प्रहरीले पहिचान गरेको बताईएको छ । हत्या गरी पाण्डेको साथबाट लुटेको पैसाले सुनारले गरगहना खरिद गर्नुका साथै किराना पसलमा लगानी गरेको देखिएको प्रहरीले जनाएको छ ।

उसका साथबाट प्रहरीले सुनका १ थान औंठी र २ थान सिक्रि बरामद गरिएको प्रहरी नायव उपरिक्षक मल्लले बताउनु भयो ।
सुनार बिभिन्न चार मुद्धामा कैद भुक्तान गरि बाहिर निस्केको व्यक्ति भएको र सोही समयमा ज्यान मुद्धामा जेलमा रहदा पाण्डेसंग चिनजान तथा परिचय भएको भेटिएको प्रहरीले जनाएको छ ।