बारमा प्रगतिशील समूहका अध्यक्षको अग्रता


काठमाडौँ । कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिनुभएको छ ।

झापा, इलाम र उच्च अदालत विराटनगरको ३०९ मतगणना गर्दा श्रेष्ठले १९६ मत प्राप्त गरी अग्रता लिनुभएको छ । बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले १०९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो । सोमबार साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो । पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना शुरु गरिएको थियो ।

उहाँले तीन ठाउँको मतगणना सकिएपछि मंगलबार बिहान ९ बजेदेखि १० वटा स्थानमा मतगणना गर्ने जानकारी गराउनुभयो । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए । निर्वाचन अधिकृत खड्काले चार दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने बताउनुभयो ।