कांग्रेस नेतृत्वमा संकट

0
Shares

 

खेमराज निरौला
संगठनात्मक विवाद र नेतृत्वबीचको मनमुटावले इतिहासका विभिन्न कालखण्डमा सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीको हैसियत बनाएको नेपाली कांग्रेसलाई २०७५ सालसम्म आइपुग्दा खुम्चिदै गएको प्रभावलाई सशक्त बनाउन कठिन हुँदै गएको छ । बेलाबखत हुने गरेका संगठन सुदृढीकरणका विभिन्न तहका बैठक र भेलाले पनि प्रभावकारी मार्गदर्शन गर्न सकिरहेको देखिँदैन । पार्टीभित्रको संगठनात्मक एकताको प्रयास निष्प्रभावी देखिएको छ । नेतृत्वको विषयलाई लिएर विमति र असन्तुष्टि बढिरहँदा पार्टीभित्रको आन्तरिक लोकतन्त्रले बाटो बिराएको जस्तो देखिन थालेको छ ।

निरन्तर, निष्प्रभावी बन्दै गएको पार्टीको आन्तरिक एवम् लोकतान्त्रिक संस्कारलाई सामान्यरुपमा लिन नसकिने अवस्था सिर्जना भएको छ । विगतको गौरवपूर्ण इतिहासलाई सकुशल पुनस्र्थापना गर्न कांग्रेसलाई निकै गाह्रो परिरहेको अवस्थाको मुख्य कारण पार्टीभित्र मौलाएको गुटको राजनीति नै प्रमुख कारण हो भन्ने निष्र्कष छ । वास्तवमा कांग्रेसमा अहिले पार्टीको सैद्धान्तिक बहसभन्दा पनि आन्तरिक लोकतन्त्रलाई मजबुत र विश्वसनीय बनाई गुमेको साख र जनभरोसालाई पुनर्ताजगी गराउनुपर्ने चुनौतीे छ ।

कांग्रेसमा निरन्तर देखिने कमजोरी भनेकै उसको अतिशयोक्ति पूर्ण आत्मविश्लेषण नै हो । शासन सत्ताको बागडोर सम्हाल्न पुगेपछि अब सधैँभरि यही पोजिसन रहिरहन्छ, सत्ताबाहिर बस्नै पर्दैन भन्ने अहंता कांग्रेसमा बलियोरुपमा रहेको छ । तर यो अहंता २०७४ सालसम्म आइपुग्दा कमजोर प्रमाणित भइदियो र सधैँको सत्तापक्षीय कांग्रेस प्रतिपक्षी कित्तामा बस्नुपर्दा एक किसिमको हतास मानसिकतामा देखिएको छ । आफूलाई सधैँभरि विकल्परहित शक्तिको रुपमै मात्र चित्रण गर्ने गल्तीले गर्दा कांग्रेस अहिले मुद्दाविहीन र गन्तव्यविहीन बन्न पुगेको छ । यसका सर्वोच्च नेताहरुले आफूलाई सधैँ शासकको स्थानमा राखे तर आफू जननिर्वाचित प्रतिनिधि भएको तथ्यलाई बिर्सिंदा राजनीतिक पकड कमजोर हँुदै गएको विश्लेषण छ । सहमति र सामूहिक नेतृत्वको संस्कार क्रमशः कांग्रेस कार्यशैलीबाट विमुख हुँदै गएको अवस्था छ ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाले पार्टीको अभिभावकत्व लिएका थिए । पारिवारिक विरासत, उनले हासिल गरेको शिक्षा, सैद्धान्तिक गहिराइ एवम् अन्तर्राष्ट्रिय छविले उनलाई एउटा सफल राजनीतिज्ञका रुपमा चिनाएको थियो । उनको निर्णय क्षमताले कांग्रेसलाई आमजनसमुदायमाझ लोकप्रिय पार्टीका रुपमा उभ्याउन सफल भएका थिए त्यो समयमा । तर अहिलेको कांग्रेस त्यो बैद्धिकता र सैद्धान्तिक धरातलबाट विचलित भई वियोगान्तको अवस्थामा आइपुगेको छ । बीपी कोइरालाको अवसानपछि त्यो बैद्धिकताको जग आज आइपुग्दा भताभुङ्ग भएको छ । बैद्धिकताको खडेरी कांग्रेसमा देखिएको छ । एक अर्थमा भन्ने हो भने बौद्धिक शून्यता देखा परेको छ ।

पहिलो तहका वरिष्ठ नेताहरुद्वारा नै केन्द्रीय कमिटीका बैठक–भेलाहरु बहिष्कार गर्नेसम्मको अवस्था कांग्रेसमा आउनुले नेतृत्वको संकट प्रस्टरुपमा देख्न सकिन्छ । पार्टीभित्रकै प्रतिपक्षीले देउवा नेतृत्वलाई निष्प्रभावी र असहिष्णुको आरोप लगाइरहँदा देउवाले भने कोइराला परिवारका सदस्यहरुलाई पार्टी कसैको बिर्ता÷पेवा होइन भन्ने जवाफ फर्काउनुले कांग्रेसको आगामी महाधिवेशन रोचक र हेर्नलायक बन्ला ।

बीपीको प्रजातान्त्रिक समाजवादको अभियान क्षतविक्षत भएको छ । बीपीको अवसानपछि छाएको शून्यतालाई केही हदसम्म पूरा गर्न नेतात्रय गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले प्रयास गरेको पाइन्छ । नेतात्रयले केही समय भए पनि कांग्रेसमा सामूहिक नेतृत्वको भावना जगाउन सफल भएका थिए । तुलानात्मकरुपमा कांग्रेसलाई बृहत् नेतृत्वको आधार खडा गरिदिएका थिए । तर दुर्भाग्य ! त्यो त्रिमूर्तिको नेतृत्व पनि लामो समयसम्म टिक्न सकेन । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका बीचको द्वन्द्वले गिरिजाप्रसाद कोइराला पार्टीमा एकछत्र राज गर्न सफल भए दुई नेतालाई पाखा लगाउँदै । त्यही कालखण्डदेखि कांग्रेसमा नेतृत्वको संकट र खटपटको बीजारोपण हुँदै आएको छ ।

गिरिजाप्रसादकै कार्यकालमा पार्टी दुई चिरा भयो । नेका प्रजातान्त्रिको नेतृत्व शेरबहादुर देउवाले गर्न थाले र संस्थापनको नेतृत्व गिरिजाप्रसादले गर्न थाले । तर देउवा कहिल्यै पनि कांग्रेसको नेता÷अभिभावक बन्न सकेनन् । पार्टी फुटाएको र प्रजातन्त्र दरबारमा बुझाएको, २०५२ सालको तत्कालीन माओवादी विद्रोहको अपजश शेरबहादुर देउवालाई नै जान्छ । नेतात्रयको अवसानपछि कांग्रेसभित्र जे–जस्ता घटनाहरु घटे र जस्तो आकारमा कांग्रेस खुम्चिन पुग्यो ती सबैको जिम्मेवारी शेरबहादुर देउवाले नै लिनुपर्ने भएकोले पार्टीमा उनलाई अक्षमको बिल्ला भिराइने गरिन्छ । हुन पनि कांग्रेसको राष्ट्रिय राजनीति बिग्रिनुमा देउवाको अदूरदर्शी एवम् गुटको राजनीति नै प्रमुख कारण देखिन्छ । देउवा सभापतिमा निर्वाचित भएदेखि नै उनको नेतृत्वलाई पार्टीभित्रैबाट बारम्बार चुनौती आइरहेको छ । पार्टीभित्रका वरिष्ठ नेताहरु क्रमशः रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सशांक कोइराला र कृष्ण सिटौला एवम् दोस्रो पुस्ताका नेता क्रमशः सुजाता कोइराला, गगन थापा, अर्जुनरसिंह केसीलगायतका प्रभावशाली नेताहरु पनि देउवाविरुद्ध उभिनुले कांग्रेसभित्रको जुँगाको लडाइँले निकै उग्ररुप लिनेमा सन्देह छैन ।

खासगरी वर्तमान सभापति देउवा आफूलाई लगाइएको आरोपको खण्डन गर्न अक्षम देखिएका छन् । यति हुँदाहुँदै पनि पद र प्रतिष्ठाका लागि पार्टीमा देउवा जस्तोसुकै चुनौती सामना गर्न पनि तयार देखिनुले कांग्रेसको आगामी नेतृत्व कस्तो होला र कांग्रेस कसरी अघि बढ्ला भन्ने विषयले सबैको ध्यान खिचेको छ । यति हुँदाहुँदै आफ्नो कार्यकाल लम्ब्याउन तल्लीन देउवाले पार्टीलाई कस्तो अवस्थामा पु¥याऊलान् ? यो चासोको विषय बन्ने पक्का छ ।

२०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमा बेहोरेको अप्रत्यासित हारले नेतृत्व परिवर्तनको मुद्दा गहनरुपमा उठ्नुले पनि देउवाका लागि दिन सहज भने देखिँदैनन् । नेतृत्व हस्तान्तरणको दबाब युवा पुस्ताले दिइरहँदा र पार्टीमा आफ्नो भूमिका खोजिरहँदा सबै पक्षका नेता–कार्यकर्तालाई मिलाएर पार्टी सशक्त बनाउने कुरामा देउवाले एकदम असाधारण प्रतिभा देखाउनुपर्ने हुन्छ । भगिनी संस्था नेपाल विद्यार्थी संघभित्रको विवाद होस् या पार्टीका आन्तरिक विधान संशोधनको विषय होस्, सबै पक्षमा पार्टीभित्र मतैक्यता हुन नसक्नु कांग्रेसको दुर्भाग्य नै हो ।

पहिलो तहका वरिष्ठ नेताहरुद्वारा नै केन्द्रीय कमिटीका बैठक–भेलाहरु बहिष्कार गर्नेसम्मको अवस्था कांग्रेसमा आउनुले नेतृत्वको संकट प्रस्टरुपमा देख्न सकिन्छ । पार्टीभित्रकै प्रतिपक्षीले देउवा नेतृत्वलाई निष्प्रभावी र असहिष्णुको आरोप लगाइरहँदा देउवाले भने कोइराला परिवारका सदस्यहरुलाई पार्टी कसैको बिर्ता÷पेवा होइन भन्ने जवाफ फर्काउनुले कांग्रेसको आगामी महाधिवेशन रोचक र हेर्नलायक बन्ला । खासगरी सशांक, शेखर, सुजाता, रामचन्द्र, कृष्ण सिटौलाहरुको अडान र सौदाबाजीले कस्तो निकास पाउला ? रोचक विषय बनिरहेको छ ।

दुई कम्युनिस्ट पार्टीबीचको एकता घोषणा भएदेखि नै हतास र अतालिएको कांग्रेस, अहिलेको कम्युनिस्ट सरकारका लागि एउटा बलियो र टक्कर दिन सक्ने प्रतिपक्षी बन्न नसक्दा नेतृत्व आलोचित बन्दै छ । राष्ट्रिय अस्मिताको मुद्दामा एकपछि अर्को अस्पष्टताले कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न उठ्न थालेको छ । आन्तरिक कलह र नेतृत्वको लडाइँले आन्दोलनको मोर्चामा अग्रणी एवम् मूलधारको राजनीतिमा अब्बल ठहरिएको कांग्रेस अहिले आएर निष्प्रभावी र मुकदर्शक प्रतिपक्षी बनेको छ ।

केही महत्वपूर्ण राष्ट्रिय मुद्दाहरु जस्तै– लोकमानसिंह प्रकरण, गोपाल पराजुली, दीपकराज जोशी, सुशीला कार्कीलाई महाअभियोग प्रकरणदेखि अहिले वाइडबडी, ३३ किलो सुनकाण्ड अनि पछिल्लो सिके राउतसँग सहमति र नेत्रविक्रम चन्दको पार्टी प्रतिबन्धका विषयमा कांग्रेसको ढुलमूले र अस्पष्ट चरित्र पार्टीभित्रै आलोचित बनेको छ । उल्लिखित व्यक्ति र विषयमा कांग्रेसभित्रै पक्ष–विपक्ष देखिनु नितान्तै नौलो भने होइन । अहिले राष्ट्रिय राजनीतिमा चनाखो हुनुपर्ने बेलामा कांग्रेस विभाजित हुनु मुलुककै राजनीतिमा दुर्भाग्यपूर्ण छ ।

विनाअध्ययन–विश्लेषण राष्ट्रिय मुद्दामा हतारमा प्रतिक्रिया जनाइहाल्ने र पछि आलोचना आएपछि सुधार्ने प्रवृत्तिलाई सच्याउनु जरुरी छ । इतिहास केलाउने हो भने, २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन र २०७२ सालमा संविधान घोषणा गर्ने बेलासम्मको भूमिकालाई भने नजरअन्दाज गर्न सकिँदैन । तर संविधान घोषणापश्चात कांग्रेसको चरित्र र बौद्धिकता, प्रजातान्त्रिक संस्कार, केन्द्रीय नेतृत्व जसरी लोकतान्त्रिक आदर्श र बीपीको समाजवादबाट विमुख हुँदै आएको छ, त्यसले पार्टीप्रति यसका शुभेच्छुक, समर्थक एवम् नेता–कार्यकर्ता विचलित छन् ।

आफू सभापति पदमा आसीन भएदेखि नै देउवाका निर्णय क्षमता, कार्यशैली एवम् पार्टी सञ्चालनको रबैया यति विवादित र आलोचित बन्न पुग्यो कि यसले कांग्रेसलाई कुनै एउटा वियोगान्त नाटकको पात्रजस्तो बनाइदियो । अहिले कांग्रेसको चिन्ता यो हुनुपर्ने हो कि मानौं आगामी तीन वर्षपछि हुने सबै तहका निर्वाचनमा कसरी गुमेको साख फर्काउने हो । यसैलाई प्रमुख गन्तव्य बनाएर झीना–मसिना विवादलाई पन्छाउँदै अघि बढ्ने समयमा आन्तरिक गुट र नेतृत्व हडप्ने होडबाजीमा फस्नु पार्टीका लागि प्रत्युत्पादक बन्न सक्छ । कांग्रेस निकट जे–जति विचार र टिप्पणी सार्वजनिक मिडियामा आएका छन्, ती सबै आन्तरिक गुट–उपगुटका दाउपेचमा मात्र सीमित छन्, न कि कुनै रचनात्मक प्रतिपक्षको भूमिकामा ।