प्रगतिशील लेखक सङ्घमा विवाद

0
Shares

काठमाडौँ ।
एघारौँ राष्ट्रिय सम्मेलनको तयारीमा रहेको प्रगतिशील लेखक सङ्घमा केही पदाधिकारी र सल्लाहकारले बहिष्कार गर्ने जनाएपछि विवाद देखिएको छ । सङ्घका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डङ्गोलले आज विज्ञप्ति जारी गरी संस्थाबाट अलग हुने घोषणा गरेकाले लगाएका आरोपमा आधार नभएको जिकिर गर्दै प्रलेसमा कुनै विभाजन नआएको स्पष्ट गर्नुभएको छ ।

प्रलेसको एघारौँ राष्ट्रिय सम्मेलन यही चैत २२ र २३ गते काठमाडौँमा हुँदैछ । विसं २००९ मा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित सो संस्था वामपन्थी स्रष्टाहरुको साझा मोर्चा मानिन्छ । कुनै बेला कमलमणि दीक्षित, धर्मराज थापा, कृष्णचन्दसिंह प्रधान, गोकुल जोशी जस्ता स्रष्टा थिए । रमेश विकल, गोविन्द भट्ट, आनन्ददेव भट्ट, निनु चापागाईं, घनश्याम ढकाल र अमर गिरीले संस्थाको नेतृत्व गरिसक्नुभएको छ ।

दशौँ सम्मेलनपछि प्रलेसले सङ्घीय संरचनाअनुसार वैचारिक र सृजनात्मक कार्यक्रम सञ्चालन गरिरहँदा केही घटक र पदाधिकारीबाट असहयोग भएको जनाउँदै विज्ञप्तिमा विवाद मिलाउन केन्द्रीय सल्लाहकारहरु प्रा डा जगदीशचन्द्र भण्डारी, मित्रलाल पंज्ञानी र ईश्वरचन्द्र ज्ञवाली र प्रलेस नेतृत्वबीच पहल भए पनि उहाँहरु अलग हुने घोषणा आउनु दुःखद भएको उल्लेख गरिएको छ । पछिल्लो समय प्रलेसका सचिवालय सदस्य सङ्गीत श्रोता र राजु स्याङ्तानले आफूहरुको लिखित असन्तुष्टि नेतृत्वलाई बुझाएर अलग हुने जनाउनुभएको थियो भने केही सल्लाहकार र सदस्यले प्रलेसको औचित्य नरहेको भन्दै वक्तव्य प्रकाशन गर्नुभएको थियो ।

विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र, जनजीविका र भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद–विरुद्धको मूल एजेण्डामा एकै ठाउँमा उभिएर जान सकिने भन्दै हालै सम्पन्न प्रलेस काठमाडौँ सम्मेलन वैधानिक रहेको दाबी गरिएको छ । प्रलेसले मातृभाषा विभाग खडा गरे पनि जिम्मेवारी लिनेहरुले उचित काम नगरी तिनैले नेतृत्वमा आक्षेप लगाइनु औचित्यहीन भएको जनाइएको छ ।

“प्रलेस विभाजित भएको होइन, यसमा रहनुभएका केही साथीहरू यसबाट बाहिरिनुभएको हो, उहाँहरूलाई सङ्गठित रूपमा आफ्ना सिर्जनात्मक गतिविधि गर्ने स्वतन्त्रता छँदैछ”, विज्ञप्तिमा भनिएको छ, “नेपाली प्रगतिशील साहित्यिक, सांस्कृतिक आन्दोलनलाई अझ उचाइमा पु¥याउन उहाँहरूले इमानदारीका साथ पहल गर्नुभयो भने प्रलेस नेपाल उहाँहरूसँग पनि सहकार्य गर्न तयार छ ।”
रासस