सेतो मच्छिन्द्रनाथको रथ व्यवस्थापन गर्न समिति गठन

0
Shares

काठमाडौँ ।
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा व्यवस्थापनका लागि समिति गठन गरिएको छ । काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यको संयोजकत्वमा ३७ सदस्यीय समिति गठन गरिएको हो ।

जात्रा व्यवस्थापनका लागि स्वयंसेवक, सुरक्षा, रथ व्यवस्थापन, अतिथि सत्कार, रथ निर्माण रेखदेखलगायत उपसमिति पनि गठन गरिएको संयोजक शाक्यले राससलाई जानकारी दिनुभयो । महानगरपालिकाको कार्यालयमा प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा बसेको बैठकले समिति गठन गरेको हो ।

चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा यस वर्ष यही चैत ३० गतेदेखि शुरु हुँदैछ । चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई त्यस दिन तानेर असनसम्म पु¥याइन्छ । त्यसै दिन बेलुकी असनमा राष्ट्राध्यक्षले पूजा एवं दर्शन गर्ने परम्परा छ ।

दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ । चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छिन्द्रबहालसम्म यात्रा चलाइन्छ । यसरी यस वर्ष आगामी वैशाख ४ गते रथ यात्रा सकिने जनाइएको छ । मच्छिन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घरघरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।
रासस