रत्ना होटलले सर्वाेच्चको फैसला कार्यान्वयन गरेन

0
Shares

सरोज यादव, विराटनगर ।
विराटनगर स्थित रत्ना होटलका मजदुरहरुले श्रम अदालत र सर्वोच्चले गरेको फैसला कार्यान्वयन नगरेमा पुनः अदालतको ढोका गुहार्न बाध्य हुने चेतावनी दिएका छन् ।

विराटनगर महानगरपालिका ११ मा रहेको रत्ना होटल प्रालिले काम गर्ने मजदुरहरु केशवबहादुर बुढाथोकी, दुर्गा उप्रेती, पारस गुरुङ र विश्वबन्धु खड्कालाई पारिश्रमिक दिन गरेको सर्वोच्चको फैसला कार्यान्वयन नगरेमा पुनः अदालतको ढोका ढकढकल्याउन बाध्य हुने चेतावनी दिएका हुन् ।

आइतबार पत्रकार सम्मेलनको आयोजनागरि उनीहरुले होटल संचालककले अदालतको फैसला अनुसार पारिश्रमिक दिन आनाकानी गरिरहेको बताएका छन । काम गर्दै आएका कर्मचारीहरुलाई २३ भदौ २०६८ मा गैरकानूनी रुपमा कामबाट हटाएको भन्दै पारिश्रमिक र क्षतिपूर्ति दाबी गर्दै चार जना मजदुरहरुले श्रम अदालतनमा मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाउपर श्रम अदालतले मजदुरको पक्षमा फैसला गरेको थियो ।

तर, होटल रत्नाका संचालक थापाले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, सर्वोच्चले पनि मजदुरकै पक्षमा फैसला गरेको थियो ।२२ असार २०६९ मा श्रम अदालतले गरेको फैसला सदर गर्दै सर्वोच्चले २७ असार २०७५ मा मजदुरलाई २३ भदौ २०६८ देखिको पारिश्रमिक र सुबिधा १५ दिनभित्र उपलब्ध गराउन होटल रत्नालाई आदेश गरेको थियो ।

सर्वोच्चले गरेको फैसलालाई पनि अटेर गर्दै पाउनु पर्ने सेवा सुबिधा दिन अटेर गरेको स्वतन्त्र होटल मजदुर युनियन विराटनगरका अध्यक्ष अर्जुन राईले बताए । उनंले फैसला अनुसारको पारिश्रमिक दिन होटलले आनाकानी गरेमा अदालतको मानहानी गरेको आरोपमा मजदुरहरु अदालत गुहार्न बाध्य हुने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै दुर्गा उप्रेतीले होटल संचालकले आफुहरु माथि अनुचित आक्षेप लगाएर पन्छिन खोजेको दाबी गरे । चारजना मजदुरले माघ मसान्तसम्म ७४ लाख रकम पाउनुपर्ने दाबी समेत गरेका छन । यता होटल रत्नाका संचालक रेवतबहादुर थापाले भने श्रम कार्यालय र अदालतले आफूमाथि अन्याय गरेको बताउँदै आएका छन् ।