सुनको कोटा प्रणाली खारेज गर्न सुनचाँदी व्यवसायी महासंघको माग

0
Shares

यमलाल भुसाल, बुटवल ।
सुनको आपूर्ती बढाउन तथा आयत गर्ने अधिकार अन्य कम्पनी तथा फर्महरुलाई समेत प्रदान गर्न सुन व्यबसायीहरुले सरकारसंग माग गरेका छन् । अहिले सरकारको तर्फबाट नेपाल राष्ट्रबैंकले सुनको आयात गर्ने अधिकार बाणिज्य बैंकहरुलाई मात्रै प्रदान गरिएको र आयात गर्ने सिलिङ् पनि कम भएकाले बढाउन माग गरेका हुन् ।

अहिले नेपालमा नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन व्यबसायीलाई आपूर्ती गर्दै आएको छ । तर व्यबसायीले भने दैनिक ३० देखि ३५ किलो सम्म बजार माग रहेको बताएका छन् । बजार माग अनुसार सरकारले पूर्ती नगरेका कारण बजारमा बिभिन्न खाले चलखेल भईरहेको महासंघका वरिष्ठ उपाध्यक्ष मानिकरत्न बज्राचार्यले बताउनु भयो ।

नेपाल सुनचाँदी व्यबसायी महासंघको सोमबारदेखि बुटवलमा हुने छैठौं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि महासंघले सुनको आयत बढाउन, आयात गर्ने अधिकार बैंक संगसंगै व्यबसायीलाई पनि दिन, बिल बिजक भएका गरगहनालाई आवश्यकता अनुसार ओसार पसार गर्न पाउने गरि ऐन कानुन बनाउन, सुन व्यबसायमा सरल कर नीति अवलम्बन गर्न सरकारसंग माग गरेको हो ।

त्यस्तै महासंघले प्रत्येक प्रदेशमा स्थापना गर्ने तयारी गरिएका तालिम केन्द्रमा सहयोग गर्न, व्यबसायमा सुरक्षाको दरिलो आधार बनाउन, सुनचाँदीका गरगहना निर्यातकालागि सरल नीति निर्माण र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणकालागि छिटो भन्दा छिटो हलमार्किङ् व्यबस्था कार्यान्वयन गर्न महासंघका अध्यक्ष मोहनकुमार सुनारले सरकारसंग आग्रह गर्नुभयो ।

वार्षिक ५० अर्व रुपैंयाँको कारोवर हुने र मुलुकको राजश्वमा वार्षिक ८ अर्वको योगदान रहेको सुन व्यबसायमा स्प्रष्ट नियमन गर्ने कानुनको अभावमा व्यबसायमा अन्योल सिर्जना गरेको बताउँदै अध्यक्ष सुनारले सरकारसंग यथाशक्य चाँडो व्यबसाय मैत्री कानुन बनाउन माग गर्नुभयो । मुलुकभर करिव २ लाख व्यबसायीले सुनचाँदी व्यबसाय गर्दै आएको र २० हजार कालिगढ काम गर्दै आएका छन् । त्यसमध्ये ७५ प्रतिशक कालिगढ बिदेशी रहेको महासंघले जनाएको छ ।

सरकारका तर्फबाट बैंक तथा बित्तिय संस्थाहरुले आयात गर्ने र बिदेशमा काम गरेर फर्किँदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने सुनको भन्सार शुल्कमा एक रुपता ल्याउन महासंघको माग छ । अहिले झिटीगुन्टा भारीको प्रावधान अनुसार ५० ग्रामसम्म गरगहना ल्याउँदा भन्सार छुटको व्यबस्था छ ।

त्यसको अलवा ५० ग्राम सुन ल्याउँदा प्रति १० ग्रामको ५ हजार २ सय र थप ५० ग्राम अर्को ल्याउँदा प्रति १० ग्राम ६ हजार २ सय रुपैंया भन्सार बुझाउनु पर्छ । तर बैंकहरुले सुन ल्याउँदा प्रति १० ग्राममा ४ हजार २ सय मात्रै भन्सार शुल्क लाग्ने भएका कारण बजारमा सुनको मुल्यमा एक रुपता नहुने बताउँदै महासंघले भन्सार शुल्कलाई एकरुपता गर्न माग गरिएको महासंघका प्रवक्ता मनोजकुमार शाहले बताउनु भयो ।

सोमबारदेखि रुपन्देहीको मणिग्राममा हुने साधारण सभाको अर्थमन्त्री डा. युवराज खतीवडाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल सुनचाँदी व्यबसायी संघ रुपन्देहीका अध्यक्ष एमबि बिश्वकर्माले बताउनु भयो । दुई दिनसम्म चल्ने साधारण सभामा ६१ जिल्लाका सुनचाँदी व्यबसायीको सहभागिता रहने छ ।