‘ज्येस्ठ नागरिक’ अवलोकन भ्रमण तथा सम्मान कार्यक्रम सम्पन्न

0
Shares

चन्द्रागिरी ।
ललितपुर महानगरपालिका ०५ नम्बर वडाले वडावासी ज्येस्ठ नागरिकहरुको अवलोकन भ्रमण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडाले आइतबार ज्येस्ठ नागरिकहरुलाई चन्द्रागिरी अवलोकन भ्रमण गराउनुका साथै सम्मान कार्यक्रमको समेत आयोजना गरेको थियो । चन्द्रागिरीको अवलोकनसँग सम्मानित हुन पाउँदा वडावासीका ज्येस्ठ नागरिकहरु निकै खुशी भएका थिए । वडाले नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतम सहित करिब १५० जना ज्येस्ठ नागरिकहरु कोसेली सहित सम्मान गरेको थियो । उनीहरुलाई वडा अध्यक्ष विकासमान श्रेष्ठले दोसल्लासहित सम्मान गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले ज्येस्ठ नागरिकहरु भनेका अनुभवले खारिएका र मायाको पुन्जले ओतप्रोत अग्रज व्यक्तित्व भएको भन्दै यस्ता अभिवावकहरुको सम्मान गर्न पाउनु गर्वको बिषय रहेको बताए ।

कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतमले आफ्नै वडाबाट सम्मानित हुन पाउदा निकै खुशी लागेको बताउदै वडास्तरमा स्वयम् सेवकको रुपमा कार्य गर्ने धोको ब्यक्त गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु अशोक श्रेष्ठ, शोभादेबी प्रधान श्रेष्ठ, मैया रिजाल र पुनम निरौलाले एकदिनको सम्मानले मात्र ज्येस्ठ नागरिकहरुलाई खुशी दिन नसकिने भन्दै ज्येस्ठ नागरिकहरुको पिरमर्का र समस्याको निदानका लागि आउँदा दिनमा वडा स्तरबाट सक्दो पहल गर्ने आसय व्यक्त गरे ।

कार्यक्रममा सम्मानित ज्येस्ठ नागरिकहरुले अवलोकन भ्रमण तथा सम्मान कार्यक्रमबाट साथीसंगीसँग भेटघाट गर्ने अवसर मिल्नुका साथै एकै साथ घुम्न पाउँदा निकै आनन्दको अनुभुती भएको र जीवनको उत्तरार्धमा पाएको सम्मानले उर्जा प्राप्त भएको बताए । सम्मानित ज्येस्ठ नागरिकहरुको तर्फबाट नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतम सहित अच्युत प्रसाद ढुङ्गाना, राममणि गजुरेल, रामेश्वर थापा, मिना राउत र ईन्द्र बहादुर कुँवरले मन्तब्य धारणा राखेका थिए भने गौरी केसी र श्याम बस्नेतले भजन एवम् हाँस्य प्रस्तुती दिएका थिए ।