नेपाल पत्रकार महासंघ मकवानपुरमा पुस्तकालय

0
Shares

हेटौंडा ।
नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा हेटौंडामा अन्तक्र्रियासहित पुस्तकालय उद्घाटन गरिएको छ । महासंघ मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको हो ।

महासंघ मकवानपुर शाखा भवनको दोस्रो तलामा रहेको पुतस्कालयको हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभयो । पत्रकारको पुस्तकालयका लागि चाहिने पुस्तक सहयोग गर्न नगरपालिका तयार रहेको कार्यक्रममा उहाँले बताउनुभयो । उहाँले पत्रकार राज्यको चौथो अंग भएकोले विभाजित नहुन र सत्य कुरा लेख्न आग्रह गर्नुभयो ।

प्रदेश–३ पत्रकार महासंघ अध्यक्ष प्रताप बिष्टले अभिव्यक्ति स्वतन्त्रतामा महासंघ अझै पनि लडिरहेको बताउनुभयो । काठमाडौंमा बसेर काम गर्ने पत्रकार र सम्पादकका समस्या धेरै नभए पनि जिल्लामा बसेर काम गर्ने पत्रकारका धेरै समस्या रहेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागार्इंले अझै पनि पूर्णरुपमा पे्रस स्वतन्त्रताको अनुभूति गर्न नपाइएको बताउनुभयो । पत्रकारहरुले सेल्फ सेन्सरसिप गर्नुपर्ने वाध्यतामा रहेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।

हेटौंडा उपमहानगरको दुई लाख रुपियाँ सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष बिष्टले एक लाख रुपियाँ बराबरको पुस्तक, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हुमागाईंले ४२ वटा पुस्तक, महासंघ उपाध्यक्ष कुमार अधिकारी र निवर्तमान उपाध्यक्ष गिरिजा अधिकारीले पत्रकारितासँग सम्बन्धित पुस्तक महासंघलाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा महासंघ पूर्वजिल्ला अध्यक्ष भानुभक्त आचार्य, पत्रकार महासंघ मकवानपुर सल्लाहकार नानीमैया बिष्ट, प्रेस युनियन मकवानपुर निवर्तमान अध्यक्ष रुपेश दुलाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।