गलत काम गरेको पाए राजनीतिबाट नेता रावलले सन्यास लिने

0
Shares

काठमाडौं ।
कैलाली जिल्ला क्षेत्र नं. २ का प्रतिनिधिसभाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपट रावलले पदीय मर्यादाविपरीत आफूले कुनै पनि गलत काम गरेको प्रमाण फेला परे राजनीतिबाट सन्यास लिने बताउनुभएको छ ।

रावलले आफूविरुद्ध अनेक षड्यन्त्र भएको गुनासो गर्नुभएको छ । जनतामाझ उहाँले आफू सधैं निर्वाचन क्षेत्रको बिकास र समृद्धिमा लाग्ने बताउनुभयो । उहाँले आफूविरुद्ध दुष्प्रचार गर्नेलाई कतै गलत काम गरेको भए सल्लाह र सुझाव दिनसमेत आग्रह गर्नुभएको छ । रावलले आफू सधैं सही र सत्य कुराको खोजी गर्ने भएकाले त्यो बाटोतिरमात्र लाग्नेसमेत बताउनुभयो ।

‘धन सम्पत्ति कमाउनका लागि मैले राजनीति गरेको होइन, आलोचनाले मलाई काम गर्ने थप हौसला मिलेको छ’ रावलले भने । उहाँले अनावश्यक हल्लाको पछि नलाग्नसमेत जनता र स्थानीयबासीलाई आग्रह गर्नुभएको छ । उहाँले हल्लाको पछि लागेर आफुलाई बदनाम गराउने खेल भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका उहाँले नेपाली कांग्रेसका नेता मोहनसिंह राठौरलगायतका अन्यलाई हराउनुभएको हो । यसअघि नेकपा एमालेकै सांसद् भएका राठौर यो निर्वाचनको मुखमा आएर कांग्रेस हुनुभएको हो । रावल स्पष्ट रुपमा बोल्ने नेताका रुपमा चिनिनुहुन्छ ।

राजनीति गर्दा धेरै एन्जिओ र आइएन्जिओले आफ्नो स्वार्थमा प्रभाव पार्ने गरेको भन्दै उहाँले त्यस्ता किसिमका कार्यक्रम वहिष्कारमात्र गर्नुभएको छैन अरु सांसदलाई पनि कसैको स्वार्थमा नलाग्न सुझाव दिनुभएको छ । उहाँले निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्दा पनि सबै पक्षलाई समेटेको बताउनुभयो । थारु जातिलाई मात्र लाग्ने सिकलसेल एनोमिया रोगको निःशुल्क उपचार गराउने कुरामा पनि उहाँले सरकारसँग समन्वय गरेको बताएका छन् । उनले देश र जनताको पक्षमा नै राजनीति गर्ने कसम खाएकाले त्यो मुद्धाबाट विचलित नहुने समेत प्रष्ट पार्नुभएको छ ।

रावलले यतिबेला राष्ट्र, राष्टियता र जनजिविकाको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ । उहाँ सरकारले जनताको गुनासोलाई सम्बोधन गर्नुपर्ने र अनावश्यक चर्चा गरेर सरकारले समय खेर फाल्नु भन्दा जनताको मत छुने काम गरी आफ्नो पक्षमा समर्थन जुटाउनुपर्ने तर्क गर्दै आउनुभएको छ ।