सडक दुर्घटनाका कारण आठ महीनामा ३७ को मृत्यु

0
Shares

राँझा ।
बाँकेमा चालू आर्थिक वर्षको आठ महीनामा भएका सडक दुर्घटनामा परी ३७ को मृत्यु भएको छ । मुत्यु हुनेमा दुई बालबालिकासहित नौ महिला रहेका छन् ।

पछिल्ला आठ महीनाको अवधिमा बाँकेमा भएका ६० सवारीसाधन दुर्घटनामा परी ३७ को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकृत प्रहरी नायब निरीक्षक ओमप्रसाद पौडेलले जानकारी दिनुभयोे । उहाँका अनुसार, गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा वृद्धि भएको छ । यो वर्ष सवारी दुर्घटनामा परी ७९ गम्भीर घाइते भएका छन् । अझै केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो अवधिमा जिल्ला ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेका १८ हजार ९५० सवारीसाधनका चालकलाई कारवाहीसमेत गरेको छ ।

बाँकेमा २० असोज २०७५ मा राप्ती सोनारी गाउँपालिकाको कुसुम नजिक ट्रक र हाइस एकापसमा ठोक्किँदा पाँचको मृत्यु भएको थियो । धेरैजसो सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको सूचना अधिकृत पौडेलले बताउनुभयो । यस वर्ष बाँकेमा नयाँ तरिकाका सवारी दुर्घटना भएका छन्’, प्रहरी नायब निरीक्षक पौडेलले भन्नुभयो, “खेत जोत्न गएको ट्र्याक्टरबाट च्यापिएर पनि एकको मृत्यु भएको छ ।”

दुर्घटना न्यूनीकरण गर्न विभिन्न किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी निरीक्षक हिरेन्द्र रोकाय बताउनुभयो । “हामी सवारीसाधन चलाएको अवस्थामा सडकमा सवारीसाधन रोकेर चालकलाई सचेतना दिएका छौँ”, प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “इन्टरनेटको सहायतामा एप्समार्फत पनि चालकका गतिविधि नियालिरहेका छौँ ।”

आगलागीपीडितलाई राहत

बाँकेको नरैनापुर गाउँपालिकाका आगलागीपीडित आठ घरपरिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । गत बिहीबार आगलागी भएका चार घरपरिवार र यसअघि विभिन्न समयमा आगलागी भएका अन्य चार घरपरिवार गरी जम्मा आठ घरपरिवारलाई राहत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिनुभयो ।

प्रतिपरिवार २५ किलो चामल, पाँच किलो दाल, दुई डेक्ची, चार प्लेट, दुई गिलास, दुई केजी नुन, एक लिटर खाने तेल र एक÷एक डाडुपन्यू राहतस्वरुप दिइएको उहाँले बताउनुभयो । नरैनापुर गाउँपालिका–१ कट्कुइँयामा बिहीबार साँझ भएको आगलागीबाट ठाकुर अहिर, खुलेराम अहिर, रामाशङ्कर अहिर र जित अहिरको फुसले छाएका घरगोठ जलेका थिए ।

वडा नं १ वडाध्यक्ष मोल्हे बेहना शेष र वडा सदस्य जलालु खाँले पीडितलाई गाउँमै पुगेर राहत प्रदान गर्नुभएको थियो । गाउँपालिकामै दमकल भएका कारण आधा घण्टामै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन नपाएको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो ।

अवैधरुपमा हतियार बनाउने पक्राउ

नेपालगञ्जमा अवैधरुपमा हतियार बन्ने गरेको पाइएको छ । वडा प्रहरी कार्यालयदेखि २०० मिटर जति टाढा नै त्यस्तो अवैध हातहतियार बन्ने गरेको हो । प्रहरीका अनुसार, नेपालगञ्ज–५ डिएसपीरोडका ६० वर्षीय जङ्गवीर नेपालीलाई हतियार बनाउने गरेको आरोपमा पक्राउ गरिएको छ । जङ्गवीरसँग हतियार मर्मत गर्ने लाइसेन्स रहेको छ । तर, उहाँको साथमा पुरानो हतियार रहेको र नयाँ पनि बनाइदिने गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा सात थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयरगन पेस्तोल एक थान, लामो स्प्रिङ्ग तीन थान, बाकस, आरनलगायतका सामग्री बरामद गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।
रासस