भूकम्पपीडित युवाहरुलाई उत्पादनमा जोडिँदै

0
Shares

बलेफीमा तालिमकेन्द्रको भवन शिलान्यास
नानीराम नेपाल, सिन्धुपाल्चोक ।
भूकम्पपीडित यूवाहरुलाई उत्पादन र रोजगारीमा जोड्ने उदेस्यले प्रदेशस्तरीय यूवा उद्यमी प्रवद्र्धन कार्यक्रमका लागि प्रविधियुक्त तालिम हलको शिलान्यास गरिएको छ । ३ नम्बर प्रदेश सरकारको ५० लाख बजेट लागतमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ स्थित अमलटारमा भव्य र सुविधासम्पन्न भवनको शनिवार शिलान्यास गरिएको हो । पूर्व स्थानीय विकास मन्त्री एवम नेकपाका स्थायी समिति सदस्य अमृतकुमार बोहोराले शनिवार तालिम केन्द्रको भवन शिलान्यास गरेका हुन् ।

तालिम केन्द्रको भवनको जगमा ईटा राखेर शिलान्यास गर्दै पूर्वमन्त्री बोहोराले यूवाशक्तिको विदेश पलायन बढिरहँदा यूवाहरुमा सीप, क्षमताको विकास गर्दै उनीहरुलाई उत्पादनका क्षेत्रमा जोड्नुपर्ने बताए । ‘यूवाहरुले विदेशमा सीप र पसिना बेच्नुपर्ने अवस्था छ, उनीहरुका सीप र क्षमता विकास गर्दै त्यो सीप र क्षमताको यहिँ उपयोग हुनुपर्दछ’, पूर्वमन्त्री बोहोराले भने, ‘यहाँ बन्न लागेको तालिम केन्द्रले यूवाहरुका जीवन बदल्ने बिश्वास लिएको छु ।’ राजनीति परिवर्तनका लागि आफुहरुले वर्षौसम्म संघर्ष गर्नुपरेको भन्दै्र अब आर्थिक परिवर्तनका लागि यूवाशक्तिको परिचालन गर्नुपर्नेमा उनले जोड दिए । ‘मुलुकमा राजनीतिक क्रान्ति पुरा भइसक्यो, अब आर्थिक क्रान्तिमा ध्यान केन्द्रित गरिरहेका छौं’, उनले भने, ‘यूवाहरुलाई उत्पादनमा नजोडेसम्म आर्थिक क्रान्ति हुन सक्दैन ।’

३ नम्बर प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापतिसमेत रहेका प्रदेश सांसद सरेश नेपालले भूकम्पपीडित यूवाहरुलाई पेशमा पुनस्थापना गर्नका लागि यो भूकम्पपीडित यूवा उद्यमी प्रवद्धन कार्यक्रम सूरु गरिएको बताए । प्रदेश सरकारको डेढ करोड बजेटमा सुरु गरिएको यो कार्यक्रम अन्तर्गत ५० लाख लागतमा यूवा तालिम केन्द्रको भवन निर्माण गर्न लागिएको सांसद नेपालले सुनाए ।

‘यूवाहरुमा भूकम्पपछि ठूलो निराशा छाइरहेको छ, पेशामा पुनस्थापना हुन सकिरहेका छैनन’, सांसद नेपालले भने, ‘अब तालिमकेन्द्रले यूवाहरुमा उत्साह र आत्मविश्वास बढाउँदै उनीहरुलाई उत्पादनमा जोड्ने छ ।’ यूवा उद्यमी प्रवद्र्धन कार्यक्रम अन्तर्गत यूवाका रुची र चाहनाको पहिचान गर्दै सोहि अनुसारका तालिम र सीप प्रदान गरिने कार्यक्रमका अभियन्ता डाक्टर बिनोद नेपालले बताए ।

यूवा उद्यमी प्रवद्र्धन कार्यक्रमका लागि स्थानीय सरकारले पनि प्राथमिकताका साथ योजना निर्माण र कार्यन्वयनमा जुट्ने बलेफी गाउँपालिकाकी उपाध्यक्ष कमला कायस्थले बताईन् । भवन शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनीधि, नेतासहित बलेफी गाउँपालिकाका २ सय बढि स्थानीय सहभागि थिए ।