शहीदहरुको सम्झना स्वरुप पार्क निर्माण शुरु

0
Shares

धनवीर दाहाल, रुकुम ।
शसस्त्र द्धन्दको उद्गम थलोको रुपमा चिनिएको रुकुममा शहिदको सम्झना स्वरुप पार्क निर्माणको काम थालिएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरीगाँउमा शहिद पार्क तथा सभा हल निर्माणको काम थालिएको हो । सांसद जनार्दन शर्माको संसदिय क्षेत्र विकास कोष अन्र्तगत ३ करोड ७२ लाख मा शहिद पार्क निमार्ण हुन लागेको छ ।

शहिद पार्क सँगै रुकुम पश्चिममा हाल सम्मकै ठुलो सभा हल निर्माण हुन लागेको हो । यहि आर्थिक बर्ष भित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ निमार्ण थालिएको पार्कको करिव ३० प्रतिशत काम सम्पन्न भएको उपभोक्ता समितीका अध्यक्ष केदार गौतमले बताउनुभयो ।

शहिदको सम्झना स्वरुप निर्माण हुन थालेको पार्क तथा सभाहल अत्याधुनिक हुने इन्जीनियर शिसिर गौतमले जानकारी दिनुभयो । स्मार्ट सभा हल र बगैचा सहितको पार्क निर्माणले शहिद प्रतिको सम्मान हुने बिश्वास स्थानीयले गरेका छन् । शहिदको नाममा जिल्लामा पहिलो पटक अत्याधुनिक पार्क हुन थालेको हो ।

५०० जना अटाउने सभा हल निर्माण भएपछि जिल्लामा कार्यक्रमहरु आयोजना गर्न सजिलो हुने अपेक्षा छ । जिल्लामा व्यवस्थित सभा हल नहुँदा समस्या छ । मध्यपहाडी लोकमार्गको छेउमा रहेको शहिद पार्क तथा सभा हल निर्माण सँगै रुकुम पश्चिममा ठुला सभा समारोहका लागी समस्या नहुने इन्जनियर गौतमको भनाई छ ।