असिनाले हिउँदेबालीमा क्षति

0
Shares

रुकुृम (पूर्व),  रुकुम (पूर्व) का विभिन्न स्थानमा परेको असिनाले गहुँ, जाँै र तरकारीबाली तथा फलफूललाई ठूलो क्षति पु¥याएको छ ।

यस वर्ष समयसमयमा हिउँदे वर्षा हुँदा हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आशमा बसेका किसान अहिले चिन्तित बनेका छन् । “सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँ बाली राम्रो भएको थियो”, किसान टेकप्रसाद रोकाले भन्नुभयो, “खेतबारीमा नै सेताम्य हुने गरी असिना परेपछि सबै बाली सखाप बनाइदिएको छ ।” पाक्नै लागेको गहुँबाली र फुल्नै लागेका फलफूलमा असिनाले ठूलो क्षति पु¥याएको किसानहरु बताउँछन् ।

जिल्लामा कूल क्षेत्रफलको चार हजार २०० हेक्टर क्षेत्रफल गहुँ उत्पादन हुँदै आएको छ । तर यहाँका कुनै पनि किसानले बाली बीमा गरेका छैनन् । त्यसैले वर्षेनी विभिन्न कारणले बालीनालीमा क्षति पुगे पनि किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । किसानले बाली बीमा नगरेकै कारण क्षतिपूर्ति पाउन नसकेको कृषि शाखा कार्यालय रुकुमकोटले जनाएको छ ।

सार्वजनिक शौचालय नहुँदा सास्ती

मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । खुला दिसामुक्त जिल्ला घोषणा गरिएको रुकुम (पूर्व) को कुनै क्षेत्रमा सार्वजनिक शौचालय छैनन् । स्थानीय सरकारले आवश्यक स्थानमा सार्वजनिक शौचालय नबनाउँदा बटुवा, लामो तथा छोटो दूरीका सवारी यात्रु पीडित भएका छन् ।

उनीहरुले सवारी साधनकै छेल पारेर खुलारुपमै दिसापिसाब गर्दै आएका छन् । कतिपय त दिसापिसाब गर्नकै लागि हाटेलमा छिरेर नास्ता खानुपर्ने बाध्यतामा पर्छन् । “सार्वजनिक शौचालय नभेटेपछि होटेल छिर्नुबाहेक अरु कुनै विकल्प छैन”, यात्राका क्रममा रुकुमकोटमा भेटिनुभएका बागलुङका रोशन थापाले भन्नुभयो, “कतिपय सर्वसाधारण त विभिन्न पसल र बाटोको छेउछाउतिर झाडीमा पुग्नुपर्ने बाध्यता छ ।” हेर्दा सुन्दर लाग्ने रुकुम (पूर्व) मा सार्वजनिक शौचालय नहुँदा जताततै दुर्गन्ध फैलिँदै गएको उहाँको भनाइ छ ।

जिल्लाका मुख्य बजार क्षेत्र चोकबजार, छिप्रीदह, कमलदह, खाबाङ, काँक्री, तकसेरालगायतका विभिन्न स्थानमा सार्वजनिक शौचालयको आवश्यकता रहेको छ । तर हालसम्म जिल्लाको कुनै पनि ठाउँमा सार्वजनिक शौचालय निर्माण नभइसकेको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । “सार्वजनिक शौचालय निर्माण गर्न अति आवश्यक छ”, अध्यक्ष बुढाले भन्नुभयो, “सबै यात्रुको समस्यालाई मध्यनजर गर्दै उपयुक्त जग्गा छनोट गरी सार्वजनिक शौचालय निर्माणको काम थालनी गर्ने तयारीमा गाउँपालिका छ ।” गाउँठाउँलाई सफा, सुन्दर तथा स्वच्छ बनाइराख्न र दुर्गन्धबाट बचाइराख्न सार्वजनिक शौचालयको अति आवश्यकता रहेको उहाँको भनाइ छ ।

सार्वजनिक शौचालय बनाउन मुख्य सडक तथा चोकमा जग्गा नपाएकाले बनाउन नसकिएको सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाले जानकारी दिनुभयो । “हामी जग्गा खोजिरहेका छौँ”, उपाध्यक्ष बुढाले भन्नुभयो, “जग्गाको कुरा मिल्नेबित्तिकै सार्वजनिक शौचालय निर्माणको काम अगाडि बढाउँछौँ ।”

सार्वजनिक जग्गाको पहिचान गरी शौचालय निर्माणको कामलाई छिट्टै अघि बढाइने सिस्ने गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताउनुभयो ।
रासस