थ्रीस्टार डाफिन्ससँग पराजित



हेटौंडा, (नेस)
हेटौंडामा जारी दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि डाफिन्स र आयोजक मकवानपुर भिड्ने भएका छन् ।

हेटौंडा–१० स्थित बनविज्ञान खेलमैदानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई टाइब्रेकरमा पराजित गर्दै डाफिन्सले फाइनलको यात्रा तय गरेको हो । क्यामरुनी क्लबसँग उत्कृष्ट प्रदर्शन गरेको थ्रीस्टारले टाइब्रेकरमा ५–३ को पराजय व्यहोरेको थियो । थ्रीस्टारका स्ट्राइकर अनिल गुरुङले टाइब्रेकरमा प्रहार गरेको बल बाहिरिँदा थ्रीस्टार प्रतियोगिताबाट बाहिरियो ।

यसअघि निर्धारित समय १–१ को बराबरीमा टुंगिएसँगै खेलको नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो । ६० औं मिनेटमा डाफिन्सका तर्फबाट यानिक ओआनाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । थ्रीस्टारका हेटौंडेली स्टार रञ्जन बिष्टले ७० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको म्यान अफ दी म्याच थ्रीस्टारका जीवन गुरुङ घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार प्राप्त गरेका छन् ।

खेलपश्चात् थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए । उनले डाफिन्सले धेरै फाउल खेलेको र आफूहरुले समयमै रेफ्रीलाई सजग नगराएको भए धेरै खेलाडी अस्पताल भर्ना हुने अवस्था सिर्जना हुने बताए ।

प्रतिक्रिया दिनुहोस्