जुगल हिमाल आरोहण खुला

0
Shares

काठमाडौ (नेस) । राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण पहिलोपटक खुला गरिएको छ ।

काठमाडौँबाट १४५ किलोमिटर दूरीमा रहेको उक्त हिमाल आरोहण खुलासँगै शुक्रबार आरोही दल त्यसतर्फ जाने राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आरोहण खुला गरिएसँगै जुगल हिमशृङ्खला ग्याल्जेन चुली प्रथम आरोहण तथा अध्ययन गर्न आरोही आधारशिविरतर्फ जाने भएका छन । जुगल हिमाल समुद्री सतहबाट ६ हजार १५१ मिटर उचाइमा रहेको छ ।

प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाको कार्यालयले संयुक्तरुपमा आरोहण तथा अध्ययनका लागि सहयोग गर्ने जनाइएको छ । आरोहणको नेतृत्व सगरमाथा आरोही माया गुरुङ र माधव सापकोटाले गर्नुहुने बताइएको छ ।

हालसम्म औपचारिकरुपमा मानव पाइला नपुगेको ग्याल्जेन चुली जुगल हिमशृङ्खलाका ११ वटा मध्येको एक रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । यससँगै अब आरोहणका लागि ४१५ हिमाल भएका छन् । अझै एक हजार ३०० भन्दा बढी हिमाल आरोहणका लागि योग्य रहेको बताइन्छ ।

सम्भावित जोखिम, पर्यटन प्रवद्र्धनका सम्भाव्यता, रक क्लाइम्बिङ, आइस क्लाइम्बिङसम्बन्धी अध्ययन गर्ने र जुगल हिमाल आरोहणलाई प्रवद्र्धन गर्न भिडियो वृत्तचित्र तयारी गरी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा समेत प्रचारप्रसार गरिने आयोजकले जनाएको छ ।