समाचार प्रभाव: प्रधानमन्त्रीको पहलमा धनकुमारीलाई नागरिकता

0
Shares

गंगा बराल/सालिकराम चालिसे, काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाकी धनकुमारी राईले बिहीबार नागरिकता र सामाजिक सुरक्षा भत्ताको कार्ड प्राप्त गर्नुभएको छ ।

थापाथलीको पछिल्तिर रहेको सुकुम्बासी बस्तीछेउ भेटिनुभएकी राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोे पहल तथा जिल्ला प्रशासन कार्यालय नुवाकोेटको सहकार्यमा नागरिकताको प्रमाणपत्र र सामाजिक सुरक्षा भत्ताको प्रमाणपत्र दिइएको हो ।

यही चैत ९ गते नेपाल समाचारपत्रको प्रथम पृष्ठमा ‘न नागरिकता दिए न भत्ता’ शीर्षकको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्र्मा ओली तथा प्रधानमन्त्री कार्यालयले धनकुमारीको वस्तुस्थितिबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय नुवाकोट र नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई १० गते आइतबार निर्देशन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा धनकुमारीको नागरिकता र सामाजिक सुरक्षा भत्ताको छानविनका लागि प्रधानमन्त्रीले चासो राख्नुभएको थियो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) थापाले धनकुमारीको नागरिकता सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको नेपाल समाचारपत्रलाई बताउनुभयो । राईलाई छोरीले काठमाडौबाट नुवाकोट लानुभएकोे थियो ।

‘गाउँका स्थानीय रोहित राईले संरक्षण गरिदिने भन्दैै बृद्धा धनकुमारीको नागरिकताको प्रमाणपत्र लगेका रहेछन्, उनीसँग मागेर हामीले धनकुमारीका छोरी र नातीलाई बुझाएका छौ’ प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयोे ।
धनकुमारीलाई प्रशासनको रोहबरमा पुरानै नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यलय नुवाकोेटबाट २०४९ सालमा लिइएको राईको नागरिकता नम्बर ३२८७४÷४००८ रहेको सहायक प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनुभयो ।

नागरिकतामा राईको जन्म मिति १९९० साल भदौ ८ गते उल्लेख छ । अधिकारीले धनकुमारीलाई नातीसँगै घर पठाइएको बताउनुभयो ।
धनकुमारीको नाममा ९ आना जग्गामा बनेकोे घर छ । जिल्ला प्रशासन कार्यालयमा हजुरआमालाई लिन आउनुभएका नाती राजकुमार राईले अबदेखि हजुरआमाको राम्रो हेरचाह गर्ने बताउनुभयो ।

उहाँले अबका दिनमा हजुरआमालार्ई सडकमा माग्नुपर्ने अवस्था आउन नदिनसमेत प्रतिवद्धता गर्नुभयो । ८५ वर्षिया धनकुमारीको दुई छोरा र दुई छोरी छन् ।

धनकुमारीको नागरिकता र वृृद्धभत्ताबारेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री ओलीले विशेष चासो राख्नुभएको र त्यससम्बन्धी अन्य व्यवस्था मिलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सहसचिव तथा प्रवक्ता विनोदबहादुर कुँवरले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार धनकुमारीको यही साउनदेखि समाजिक सुरक्षा भत्ता लिन बाँकी रहेको बुझिएको छ । छोरीले लिएको बृद्धभत्ता आमालाई नै बुझाएको पनि जनाइएको छ ।

प्रशासनले लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ र वडा नं ४ का वडाअध्यक्ष दलजित राईलाई उहाँको सामााजिक सुरक्षा भत्ता अरुमार्फत नदिन समेत निर्देशन दिएको छ । यसअघि अरुले लिएको पाइएमा असुल समेत गर्न गाउँपालिकका र वडालाई निर्देशन दिइएको प्रजिअ थापाले बताउनुभयो ।