कपिलवस्तुमा ट्रान्सफर्मर चोरीको घटना बढ्दै, एक महिनामा ४ ट्रान्सफर्मर चोरी

0
Shares

कपिलवस्तु ।
पछिल्लो समय कपिलवस्तुमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढेका छन् । नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्र अन्तर्गत जिल्लाको कृष्णनगर र विजयनगर क्षेत्रबाट ट्रान्सफर्मर चोरी भएका हुन् ।

चैत १३ गते बुधबार राति विजयनगर गाउँपालिका ५, पिपरीमा लगाइएको १सय केभीएको ट्रान्सफर्मर चोरी भएको छ । साताअघि गत चैत ६ गते सौनहवामा रहेको सय केभीएको ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मीकेशर अगन्जाले जानकारी दिनुभयो । यसैगरी गत फागुन महिनाको १५ गते बहादुरगञ्जस्थित सिंचाई आयोजनाको ५० केभीएको र गत फागुन १७ गते सरफरस्थित सिंचाई आयोजनाको २५ केभीएको ट्रान्सफर्मर चोरी भएको प्राधिकरण प्रमुख अगन्जाले बताउनुभयो ।

उता गत चैत २ गते दयानगरस्थित जयअम्बे रोडा उद्योगमा जडान गरिएको ४सय केभीएको ट्रान्सफर्मर चोरीको प्रयास भएपनि चोर्न नसकेको प्राधिकरण प्रमुख अगन्जाले जानकारी दिनुभयो । तर बढी गह्रौं भएका कारण चोरले लैजान नसकेर त्यहीं छाडेर भागेको बिद्युत कर्मचारी बताउँछन् ।

यसरी योजनाबद्ध ढंगबाट लगातार विद्युत ट्रान्सफर्मर चोरी हुन थालेपछि समस्यामा परेको प्राधिकरण कृष्णनगरका प्रमुख अगन्जाले गुनासो गर्नुभयो । ‘यस्तै किसिमले चोरी बढ्यो भने बिद्युत आपूर्तिमा ठूलो समस्या आउछ’–उहाँले भन्नुभयो । यसका लागि स्थानीयले बढी निगरानी बढाउनुपर्ने अगन्जाले जिकिर गर्नुभयो ।

चोरी भएको ट्रान्सफर्मर फेर्न र मर्मत गर्न आर्थिक समस्या पर्ने उहाँले बताउनुभयो । चोरी भएका ट्रान्सफर्मर करीब ३ देखि ६ लाख मूल्यका हुन् । चोरी भएका ट्रान्सफर्मरका बिषयमा प्रशासन कार्यालय, स्थानीय निकाय, प्रहरीलाई जानकारी गराएको प्रमुख अगन्जाले बताउनुभयो ।

यता ट्रान्सफर्मर चोरीपछि दुबै सिंचाई आयोजनामा सिंचाई कार्य रोकिएको छ । ट्रान्सफर्मर चोरी भएपछि सौनाहवा र पिपरीमा झण्डै २ सय घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । ट्रान्सफर्मर चोरीले एसईई दिइरहेका विद्यार्थीहरुलाई झनै समस्या परेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम प्रसाद पुडासैनीले घटनाबारे सूक्ष्म अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । बिद्युत सम्बन्धी जानकारी भएका गिरोहबाट नै यस किसिमको कार्य भएको हुनसक्ने प्रहरी उपरीक्षक पुडासैनीको भनाई छ । चोरहरुले ट्रान्सफर्मरभित्र हुने तामा निकाल्ने र अन्य सामान भने छाडेर जाने गरेको बताइएको छ ।