एक दम्पतीले दिए गाँउपालिकालाई एम्बुलेन्स उपहार !

0
Shares

स्याङ्जा ।
अर्जुनचौपारी गाँउपालिका २ बस्ने एक दम्पतीले गाँउपालिकालाई एम्बुलेन्स उपहार दिएका छन् । २४ बर्षदेखि जापानमा बस्दै आएका सुकबहादुर केसी र हिरा केसीले गाँउपालिकालाई एम्वुलेन्स उपहार प्रदान गर्नुभएको हो । दम्पती केसीले एक समारोह विच गाँउपालिका प्रमुख दिर्घनारायण अर्याललाई साँचो हस्तान्तरण गरेका छन् ।

एम्वुलेन्स नहुदा ग्रामिण क्षेत्रमा आकास्मीक सेवाका बिरामीलाई उपचारमा कठिनाई भएको महशुस गरि एम्वुलेन्स प्रदान गरेको दानदाता सुकबहादुर केसीले बताउनुभयो । म पनि यसै गाँउपालिकामा जन्मेर हुर्केको व्याक्ति हुँ केसीले भन्नुभयो,“यस्ता समस्याको जानकार भएको र सबै भन्दा बढी पिडा सुत्केरी हुन नसकेका महिलाको थियो, अब अकालमै ज्यान जाने छैन ।” गाँउपालिकामा एउटा पनि एम्वुलेन्स नभएका बेला यसले यहाँका बासिन्दालाई ठुलो मद्यत गर्ने केसीको विश्वास छ ।

दम्पतीले गाँउपालिकालाई एम्वुलेन्स प्रदान गरेर ठुलो सहयोग गरेको गाँउपालिका प्रमुख दिर्घनारायण अर्यालले बताउनुभयो । यो एम्बुलेन्स अब गाँउपालिकाको सम्पति हुने छ गाँउपालिका प्रमुख अर्यालले भन्नुभयो,“यसको सदुपयोग सगै गाँउपालिकावासीलाई २४ सै घण्टा सेवा दिने छ ।” कच्ची सडक सञ्जाल पुगेको भएपनि यो गाँउपालिका ग्रामिण क्षेत्र भएकाले एम्वुलेन्स सेवाले गाँउपालिकावासीको अब अकालमै मृत्यु नहुने विश्वास धेरैको छ । गाँउपालिकाले नै एम्वुलेन्स सेवा प्रदान गर्नुपर्नेमा केसी दम्पतीले गरेको यो सहयोग गाँउपालिकावासीका लागि ठुलो श्रेय रहेको अर्यालको भनाई छ ।

करिव १२ लाख बराबरको एम्वुलेन्स केसी दम्पतीले गाँउपालिकालाई हस्तान्तरण गरेका छन् । यसले गाँउपालिकाका ६ ओटै वडावासीलाई सेवा दिने एम्वुलेन्स गाँउपालिकाले नै संचालन गर्ने गाँउपालिकाका प्रवक्ता तथा वडा नम्वर ५ का अध्यक्ष ख्यामनारायण खनालले बताउनुभयो । एम्वुलेन्स सेवाका लागि भने जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तोकेको दररेटमा हुने खनालले बताउनुभयो ।