३ महिने बालिका बाकेर विद्यालय जान्छिन् छिमा !

0
Shares

रसुवा ।
पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा चाहिन्छ । यसैका उदाहरण हुन्, २८ वर्षीया छिमा तामाङ । उनी गोसाइकुण्ड गाउँपालिका दाहालफेदीस्थित घरबाट नेपाल राष्ट्रिय आधारभुत विद्यालय टिमुरेमा अध्ययनरत छिन् । उनी एक हातमा ३ महिने बालिका र एक हातमा किताब बोकेर विद्यालय धाउछिन् ।

गरिबी, घरायसी कामको बोझ, सानै उमेरमा विवाह र एकचोटि फेल भएपछि पढाईलाई बीचैमा छोड्नुपर्ने ग्रामीण बस्तीका विशेषता नै हुन् । यस्तै भएको छ, उनीलाई पनि । सानै उमेरमा उनले सोही गाउँ टार्साका टाटी घलेसँग विवाह गरेकी थिइन् । त्यसैले उनीले आफ्नो अध्ययन निरन्तरता गर्न पाइनन् । त्यसो त छोरासँग उनी विद्यालय जान्छिन् । सोही विद्यालयमा उनका छोरा कक्षा ५ मा पढ्छन भने उनी कक्षा ८ मा पढ्छिन् ।

हिजोआज बजारबाट ल्याइएका सामग्रीहरुको नाम पहिचान गर्न उनीलाई सजिलो भएको छ । उनी भन्छिन्, स्वास्थ्य चौकीको औषधिदेखि बजारीय सामग्रीको गुणस्तर र म्याद गुज्रेको सजिलै पढ्न सक्ने भएकी छु । अहिले उनी छोरी साथमै बोकेर दैनिक विद्यालयमा जान्छिन् ।

उनका श्रीमान घले भने रसुवाको सुख्खा बन्दरगाहमा श्रमिकको रुपमा काम गरिरहेका छन् ।

पढाई छोड्दै गर्दा नियमित पढ्नुपर्छ भनेर हौसला नदिएकोमा विगत सम्झिदै दुखेसो पोखिन् । पढ्नलाई उमेरले छेक्दैन भन्दै निरन्तरता दिइएको छिमा सुनाउँछिन् ।

प्रधानाध्यापक फुर्पूदोर्जे घलेका अनुसार छिमा केयर हिमालयन रिजन छात्रावासमा विहान बेलुका काम गर्दै र दिउँसो नियमित कक्षामा उपस्थित हुन्छिन् । उनले भने, छिमाजस्तै पढ्न चाहनेलाई सरकारले भत्ताको व्यवस्था गरियोस् ।

सोही गाउँपालिकाका ५४ बर्षीय किप्पाछिरिङ वाइबाले पनि रसुवा माविबाट कक्षा ८ को परीक्षा दिइरहेका छन् ।