मदिरा खुलेपछि अपराधका घटना बढेः प्रहरी

0
Shares

धनवीर दाहाल, रुकुम ।
बन्द भएको मदिरा बिक्री बितरण खुलेसँगै अपराधका घटनामा बृद्धि भएको प्रहरीले दावी गरेको छ । अदालतको आदेशसँगै मदिरा पसलहरू खुलेर बिक्री वितरण सहज भएपछि पुनः अपराधिक घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला समन्वय समिति रुकुम पश्चिमले माघ ५ गते जिल्लामा बिक्री वितरण तथा सेवन गर्न नपाइने निर्णय गरेरको थियो ।

सो निर्णय अनुसार फागुन १६ गतेदेखि मदिरा सेवन तथा बिक्रि बितरण बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा आउने ८० प्रतिशत बढी घटना मदिरा सेवनकै कारण हुने गरेको प्रहरी रिपोर्टलाई समेत आधारमा सो निर्णय गरिएको थियो । मदिरा व्यवसायीहरूले अनुमति लिएको मदिरा व्यवसाय गर्न पाउनुपर्ने मागसहित उच्च अदालत सुर्खेतमा मुद्दा हालेपछि अदालतले व्यवसायीको पक्षमा अन्तरिम आदेश गरेको थियो ।

पुनः मदिरा खुला गरेसँगै केही कम भएको अपराधिक घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

उहाँका अनुसार मदिरा सेवन खुल्ला रहेको कात्तिक, मंसिर र पुस महिनामा ५५ वटा विभिन्न प्रकृतिका घटना घटेका थिए भने मदिरा बिक्रीमा रोक लगाइएको माघ र फागुन महिनामा ११ वटा मात्र घटना घटेका छन् । त्यस्तै, मदिरा सेवन खुलेको चैतको एक महिनामा नै १८ वटा मुद्दा दर्ता भएको छ ।

जसमा हत्या, बलात्कार, सवारी दुर्घटना, सार्वजनिक अपराध र महिला हिंसाका घटनाहरू छन् । प्रहरीका अनुसार कात्तिक, मंसिर, पुसमा ६६ प्रतिशत, माघ, फागुनमा १३ प्रतिशत र चैत १ गते देखि हाल सम्म २१ प्रतिशत घटना घटेका छन् । मदिरा सेवन रोक लगाएको महिना माघ र फागुनमा सबै भन्दा कम घटना घटेको र मदिरा फुकुवा गरिएको चैत महिना नसकिदै घटना बढेको प्रहरीको भनाई छ ।